अमेरिकाले भन्यो: इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन
अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले इरानमाथिको सैन्य कारबाहीको मुख्य उद्देश्य परमाणु हतियार विकास रोक्नु मात्र रहेको दाबी गरेका छन्।
उनले इरानमा कसले शासन गर्छ भन्ने विषय त्यहाँका जनताको निर्णय भएको बताउँदै अमेरिकाको चासो भनेको उसको परमाणु कार्यक्रमलाई निस्तेज पार्नु रहेको स्पष्ट पारे।
अमेरिकाले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने अडान भान्सले पुनः दोहोर्याएका छन्। अमेरिका र इरानबीचको सम्बन्ध चरम तनावपूर्ण रहेका बेला भान्सको यो अभिव्यक्तिले अमेरिकाको रणनीतिक प्राथमिकता सुरक्षा र निरोधमै केन्द्रित रहेको संकेत गरेको छ।
उपराष्ट्रपति भान्सका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आक्रमणको आदेश दिनुको मुख्य उद्देश्य इरानले कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्न नसकोस् भन्ने सुनिश्चित गर्नु थियो। भान्सले भने, “ट्रम्प केवल आफ्नो दोस्रो कार्यकालका सुरुवाती तीन–चार वर्षसम्म अमेरिका सुरक्षित रहोस् भन्नेमा मात्र सीमित हुन चाहँदैनथे।”
उनले गत जुन महिनामा गरिएको अमेरिकी सैन्य कारबाहीतर्फ संकेत गर्दै ती कारबाहीले इरानको परमाणु कार्यक्रमलाई “पूर्ण रूपमा ध्वस्त पारेको” दाबीसमेत गरे। भान्सका अनुसार राष्ट्रपति ट्रम्पको लक्ष्य इरानी शासनको “सोचाइमै आधारभूत परिवर्तन” ल्याउनु थियो।
इरान परमाणु हतियारको नजिक पुग्न लागेको अवस्था देखिएपछि राष्ट्रिय सुरक्षाका लागि ट्रम्पले कठोर निर्णय लिएको उनको दाबी छ।
उपराष्ट्रपतिले मध्यपूर्वमा अमेरिका अर्को दीर्घकालीन युद्धमा फस्ने चिन्ता भइरहेका बेला इराक र अफगानिस्तानको जस्तो गल्ती नदोहोर्याउने पक्षमा आफूहरू रहेको बताए।
शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हमला गरेपछि सर्वोच्च नेता खामेनीसहितका उच्च अधिकारीहरू मारिएको चर्चा छ। यसको बदलामा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार (बेस) हरूमा हमला तीव्र पारेको छ। इरानी हमलामा परी हालसम्म तीन जना अमेरिकी सैनिकको ज्यान गइसकेको छ।