npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

अमेरिकाद्वारा पाकिस्तानमा भिसा सेवा स्थगित गर्ने घोषणा

भवानी प्रसाद पाण्डे 8 hours ago

अमेरिकाले पाकिस्तानबाट प्रवाह गर्दै आएको भिसा सेवा बन्द गरेको छ। कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले पाकिस्तानमा भिसा अपोइन्टमेन्टहरू रद्द गर्ने निर्णय गरेको हो।

पाकिस्तानको वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले सबै भिसा अपोइन्टमेन्ट रद्द गरिएको घोषणा गरेको छ। दूतावासका अनुसार यो निर्णय इस्लामाबादस्थित दूतावासका साथै लाहोर र कराचीस्थित महावाणिज्य दूतावासहरूको हकमा पनि लागू हुनेछ। दूतावासले जारी गरेको सूचनामा यो स्थगन शुक्रबार, मार्च ६ सम्म जारी रहने उल्लेख गरिएको छ।

गत आइतबार कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा प्रदर्शनकारीहरूले जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा १० जनाको मृत्यु भएको थियो। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा मारिएको खबर सार्वजनिक भएपछि त्यहाँ प्रदर्शन चर्किएको थियो।

घटनाका क्रममा अमेरिकी समुद्री सैनिकहरूले प्रदर्शनकारीमाथि गोली चलाएका थिए। यद्यपि, समुद्री सैनिकहरूले चलाएको गोलीबाटै कसैको ज्यान गएको हो वा होइन भन्ने विषयमा अधिकारीहरूले अझै स्पष्ट पारेका छैनन्। साथै, कन्सुलेटको सुरक्षामा खटिएका निजी सुरक्षा गार्ड र स्थानीय प्रहरीले गोली चलाएका थिए कि थिएनन् भन्नेबारे पनि स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले महावाणिज्य दूतावासको बाहिरी पर्खाल भत्काएर परिसर भित्र प्रवेश गरेका थिए। प्रान्तीय सरकारका प्रवक्ता सुखदेव असर्दास हेमनानीले “सुरक्षा निकाय” बाट गोली चलेको पुष्टि गरे पनि कुन निकायले गोली चलाएको हो भन्नेबारे केही खुलाएका छैनन्। घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category