मधेशमा क्रिकेटमार्फत स्वच्छता सचेतना अभियान सुरु
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशमा खानेपानी, सरसफाइ र स्वच्छताबारे जनचेतना फैलाउन ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु गरिएको छ।
बुधबार जनकपुरधामस्थित कभर्ड हलमा खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहा, नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले कार्यक्रम उद्घाटन गरे।
यो कार्यक्रम वेल्थङ्गरहिल्फे र सबल नेपाल को साझेदारीमा सञ्चालन हुँदैछ। किशोरीहरूलाई क्रिकेट खेलको माध्यमबाट स्वास्थ्य र सरसफाइमा सचेत बनाउने कार्यक्रमको उद्देश्य रहेको छ। उद्घाटनसँगै क्रिकेट प्लस वास मार्गदर्शन पुस्तिका पनि लोकार्पण गरिएको थियो।

क्यानका सचिव खड्काले भने, ‘क्रिकेटमार्फत स्वास्थ्य र सरसफाइमा सचेतना बढाउने यो पहल महिला क्रिकेट र नयाँ खेलाडीहरूका लागि पनि महत्वपूर्ण छ।’
मन्त्री कुशवाहाले कार्यक्रम प्रभावकारी र सन्देशमूलक भएको बताए। प्रदेश तथा जिल्ला संघहरूसँग समन्वय गरी यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।
खड्काले सिरहा जिल्लाको फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुर मा पनि किशोरीहरू सहभागी भएर अभ्यास खेल खेले। कार्यक्रममा सबल नेपाल र मधेश प्रदेश क्रिकेट संघ बीच ५ लाख रुपैयाँ बराबरको सम्झौता समेत भएको छ।

खड्काले यस पहलले किशोरीहरूलाई सामाजिक सचेतना फैलाउन र भविष्यमा राष्ट्रिय क्रिकेट टोलीका लागि खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
The post मधेशमा क्रिकेटमार्फत स्वच्छता सचेतना अभियान सुरु first appeared on हाम्रो खेलकुद.