npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा

Prakash Timalsina 2 days ago

एजेन्सी – बेन्जामिन सेस्को फेरि एकपटक म्यानचेस्टर युनाइटेडको जितमा नायक बनेका छन्। उनको निर्णायक गोलसँगै युनाइटेडले पछाडि परेको अवस्थाबाट उल्टाउँदै क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ।

खेलको चौथो मिनेटमै म्याक्सेन्स लाक्रोइक्सले हेडरमार्फत गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए। ओल्ड ट्राफोर्डमा त्यो गोलले माइकल क्यारिकलाई अन्तरिम प्रशिक्षकका रूपमा दोस्रो कार्यकालमा पहिलो हार व्यहोर्नुपर्ने खतरा सिर्जना गरेको थियो।

तर खेलको मोड त्यसपछि बदलियो। लाक्रोइक्सले म्याथियस कुन्हालाई गोलतर्फ अघि बढ्नबाट रोक्ने क्रममा पछाडिबाट तानेपछि सिधै रातो कार्ड पाएर मैदान बाहिरिनुपर्‍यो। त्यसबाट प्राप्त पेनाल्टी ५७ औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले सहज रूपमा गोलमा परिणत गरे र खेल बराबरीमा पुग्यो ।

त्यसपछि ८ मिनेटपछि फर्नान्डेजकै पासमा सेस्कोले हेडरमार्फत विजयी गोल गरे। सोमबार एभर्टनविरुद्ध पनि निर्णायक गोल गरेका स्लोभेनियाली खेलाडी सेस्कोले फेरि टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

यो जितसँगै युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ र एस्टन भिल्लालाई उछिनेको छ। क्रिस्टल प्यालेस भने १४ औँ स्थानमा यथावत् छ । तर रेलिगेसन क्षेत्रमा पर्ने टोलीभन्दा १० अंकले अगाडि छ।

आजको अन्य खेलमा ब्राइटनले नटिङघम फरेस्टलाई र फुलहमले टोटेनहमलाई‌ समान २-१ ले हराएको छ।

The post युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category