अमेरिकाले रोक्यो नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा
काठमाडौं। अमेरिकाले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार जारी गरेको निर्देशनअनुसार ती देशबाट आउने आप्रवासी भिसा आवेदनहरू तत्कालका लागि रोकिएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय ट्रम्प प्रशासनले लागू गरेको कडा अध्यागमन नीतिको निरन्तरता हो। अमेरिकामा बसोबास गरेपछि सार्वजनिक सहायता कार्यक्रममा निर्भर हुन सक्ने सम्भावना देखिएका देशका नागरिकलाई लक्षित गर्दै यो कदम चालिएको बताइएको छ। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको मन्त्रालयले सबै कन्सुलर अधिकारीहरूलाई प्रभावित देशका आप्रवासी भिसा आवेदन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ।
यो निर्णय गत नोभेम्बरमा जारी गरिएको आदेशसँग जोडिएको छ, जसले अमेरिकी सरकारमाथि आर्थिक भार पर्न सक्ने सम्भावित आप्रवासीहरूको प्रवेश कडा रूपमा नियमन गर्ने व्यवस्था गरेको थियो। यसअघि नै ट्रम्प प्रशासनले करिब ४० देशमाथि यात्रा तथा अध्यागमन प्रतिबन्ध लगाइसकेको थियो।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी अध्यागमन प्रणाली सार्वजनिक सुविधाको दुरुपयोग हुन नदिन पुनःमूल्याङ्कन भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार आप्रवासी भिसा प्रक्रिया अध्यागमन प्रणालीको पुनरावलोकन नसकिएसम्म स्थगित रहनेछ।
यद्यपि, आगामी जनवरी २१ देखि लागू हुने यो निर्णय गैर–आप्रवासी भिसा (पर्यटक, व्यापारिक तथा अस्थायी यात्रा) मा भने लागू हुने छैन। तर गैर–आप्रवासी भिसा आवेदकहरूमाथि पनि अब सार्वजनिक सुविधा प्रयोग गर्ने सम्भावनाबारे कडा जाँच गरिनेछ। कन्सुलर अधिकारीहरूले आवेदकको आर्थिक अवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य, पारिवारिक अवस्था, अङ्ग्रेजी दक्षता र विगतमा सार्वजनिक सहायता प्रयोग गरेको विवरणसमेत गहन रूपमा अध्ययन गर्न सक्नेछन्।
अधिकारीहरूले आवेदकलाई अमेरिकामा रहँदा कुनै पनि सार्वजनिक सहायता नलिने प्रमाण पेश गर्न लगाउन सक्ने र आवश्यक परे अतिरिक्त फारम भर्न लगाइने व्यवस्था गरिएको छ।
नेपालका लागि यो निर्णयले पारिवारिक पुनर्मिलन, डाइभर्सिटी भिसा तथा स्थायी बसोबास खोजिरहेका हजारौँ आवेदक प्रभावित हुने देखिएको छ। विज्ञहरूका अनुसार भिसा प्रक्रिया पुनः सुरु हुने समय अनिश्चित रहेकाले नेपाली आवेदकहरूलाई थप प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अमेरिकाले भिसा स्थगन सूचीमा नेपालसहित अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, अर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा (म्यानमार), कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कंगो, क्युबा, डोमिनिका, इजिप्ट, एरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, आइभोरी कोस्ट, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कंगो, रुस, रुवाण्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान, यमन ७५ देशलाई समेटेको छ।