‘स्मार्ट टिचर’ बनाउन नास्टको पहल : शिक्षकलाई एआई तालिम
काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधुनिक प्रविधियुक्त तालिम प्रदान गर्न सुरु गरेको छ।
पठनपाठनलाई समयसापेक्ष बनाउँदै कक्षाकोठामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नवीनतम प्रविधिको प्रयोग बढाउन नास्टले यो पहल थालेको हो। नास्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रअन्तर्गत रहेको सूचना पहुँच केन्द्रले शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन तालिम दिन थालेको हो।
केन्द्रका कोअर्डिनेटर प्रदीप ढोडारीका अनुसार हालसम्म काठमाडौँको चन्द्रागिरी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापनरत २३ जना र टोखा नगरपालिकाका १९ जना विज्ञान शिक्षकहरूलाई तालिम दिइसकिएको छ। पूर्णकालीन रूपमा सञ्चालन हुने यो तालिम हाल परीक्षणका रूपमा अघि बढाइएको छ।
तालिममा शिक्षकहरूलाई च्याटजीपीटी, जेमिनाई, डिपसिक जस्ता एआई टुलहरूको प्रयोग गर्न सिकाइन्छ। यसका माध्यमबाट शैक्षिक सामग्री निर्माण गर्ने, परियोजना प्रतिवेदनहरू बनाउने, र नमुना प्रश्नपत्र तयार पार्ने जस्ता व्यावहारिक सीपहरू प्रदान गरिने ढोडारीले जानकारी दिए।
कोअर्डिनेटर ढोडारीले भने, ‘आधुनिक विद्यालय शिक्षामा एआईका विभिन्न टुलहरूलाई कसरी प्रयोग गर्ने, आजको सूचना प्रविधिको विकाससँगै हाम्रो कक्षागत सिकाइलाई कसरी अझ प्रभावकारी र जीवनोपयोगी बनाउने भन्ने सन्दर्भमा तालिम केन्द्रित छ।’
नास्टले अब यो तालिम क्रमशः अन्य नगरपालिकाहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ। आगामी दिनमा तालिमको निश्चित ढाँचा तयार पारी यसलाई देशभरका शिक्षकहरूसम्म पुर्याउने लक्ष्य राखिएको छ।
हाल यस तालिममा माध्यमिक तहका कम्प्युटर विज्ञान पुस्तकका लेखकहरू सुनिल घर्ती, राहुल महथा तथा अनुप पौड्यालले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरिरहेका छन्।