PalikaNews
व्यावसायिक कफीखेतीमा भोजपुरका किसान
काठमाडौ – केही समयअघिसम्म सामान्य रूपमा कफीका बोट मात्र देखिने भोजपुरमा अहिले व्यावसायिक कफीखेती विस्तार हुँदै गएको छ । बजारसम्मको पहुँच स्थापित भएसँगै यहाँका किसान व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत उल्लेख्य रूपमा बढेको किसानको भनाइ छ ।
जिल्लाको हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रमा कफीखेती तीव्र रूपमा विस्तार भइरहेको छ । यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ ।
कफीखेती प्रवद्र्धनका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिए । उनका अनुसार उपयुक्त क्षेत्र पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ र नगरपालिकाका सबै १४ वटै वडामा कफी प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छन् ।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकामा किसानहरूले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन् । परम्परागत रूपमा मकै र आलु खेतीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी बालीतर्फ उन्मुख भएका हुन् । स्थानीय कृषक मनोज राईका अनुसार खोक्सिका कफीखेतीका लागि उपयुक्त भूगोल भएकाले अन्य बालीको तुलनामा यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।
यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय व्यवसायीले बताएका छन्। विशेषगरी अर्गानिक कफीको अन्तरराष्ट्रिय बजारमा राम्रो माग रहेको जनाइएको छ ।
कफी बिक्रेता सुनील श्रेष्ठका अनुसार पछिल्लो समय व्यावसायिक खेती बढेसँगै उत्पादनमा पनि वृद्धि भएको छ । राम्रोसँग फलेको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानहरूको अनुभव छ। खेती विस्तारसँगै यहाँबाट निर्यात हुने कफीको मात्रा पनि क्रमशः बढ्दै गएको छ ।
कफीखेतीको विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्र सुदृढ बनाउन टेवा पुग्ने स्थानीय जानकारहरूको विश्वास छ ।