Sutra News
विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई पहिल्यै जानकारी, ९ लाख ८० हजार सदस्य उभ्याउने गगनको दाबी
काठमाडौं । नेपाली कांग्रेस दुई धारमा विभाजित भएको छ । शेरबहाद्रु देउवा र गगन थापा दुवैले कांग्रेसको आफू सभापति रहेको दाबी गरेका छन् ।
१४औँ महाधिवेशनले आफूलाई सभापति बनाएको देउवाले दाबी गर्दा दोस्रो विशेष महाधिवेशनले आफूलाई नयाँ सभापति बनाएको गगनको दाबी छ ।
यही पुस २७ देखि ३० गते मध्यरातिसम्म काठमाडौंको भृकुटीमण्डमा चलेको दोस्रो विशेष महाधिवेशनले गगनलाई सभापति चयन गरेपछि वैधानिकताको प्रश्नले कांग्रेसलाई घेरेको छ ।
बिहीबार दिउँसो देउवा समूहका केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गर्दै ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्दै यसबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
तर, योभन्दा अगाडि नै गगन समूहले विशेष महाधिवेशन भइरहेको र केही दिनमै नयाँ कार्यसमिति चयन भएर आउने लिखित जानकारी निर्वाचन आयोगलाई गराएको नवनिर्वाचित सभापति गगन थापाले बताए । कुनै पनि शक्तिको प्रभावमा नपरी विधि, विधान र कानुनअनुसार आयोगले निर्णय गर्ने भएकाले कांग्रेसको आधिकारिकताको विवाद नरहने उनको भनाइ छ ।
१४औँ महाधिवेशनमा देउवालाई सभापति बनाएकै महाधिवेशन प्रतिनिधिले आफूलाई सभापति चयन गरेको भन्दै उनले कांग्रेसका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरुको पक्षमा रहेको र आवश्यक परे जहाँ पनि उपस्थित गराउन सक्ने दाबी गरे ।
गगन थापाको नेतृत्वमा चयन नयाँ कार्यसमिति र संशोधित विधानलगायत विशेष महाधिवेशनको निर्णयबारे निर्वाचन आयोगलाई शुक्रबार जानकारी गराउने तयारी गरिएको छ ।