बाढी र पहिरोमा परी ३३० जनाभन्दा बढीको मृत्यु भएपछि श्रीलंकाले गर्यो संकटकाल घोषणा
श्रीलंकामा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३३० पुगेको छ। केही वर्षयताकै सबैभन्दा गम्भीर प्राकृतिक विपद् मानिएको यो बाढी र पहिरोमा २ सयभन्दा बढी मानिस हराइरहेका छन्।
विपद्का कारण करिब २० हजार घर पूर्ण रूपमा नष्ट भएका छन्। एक लाखभन्दा बढी नागरिकलाई सरकारले अस्थायी आश्रयस्थलमा राखेको त्यहाँको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।
चक्रवात डिट्वाहका कारण देशको करिब एक तिहाइ क्षेत्रमा बत्ती र खानेपानी सेवा ठप्प भएको छ। यस्तोमा सरकारले संकटकाल घोषणा गरेको छ। राष्ट्रपति अनुरा कुमारा देसानायकेले यो देशको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपद् भएको बताएका छन्।
केलानी नदीमा पानीको वहाव तीव्र रूपमा बढ्दै गएपछि केही स्थानहरू खाली गर्न आदेश जारी गरिएको छ। सबैभन्दा धेरै मृत्यु क्यान्डी र बादुल्लामा भएको छ। यी क्षेत्रका धेरै बस्ती पहिरोले कटिएका छन्।
उत्तर-मध्य क्षेत्रमा रहेको कुरुनेगालामा डुबान परेपछि वृद्ध आश्रमका ११ बासिन्दाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। विदेशमा रहेका श्रीलंकालीहरूलाई पनि सहयोग पठाउन आग्रह गरिएको छ। चक्रवात डिट्वाह शुक्रबार देशको पूर्वी किनार हुँदै आएर अहिले टाढा सरिसकेको छ।
श्रीलंकामा अहिले मनसुन चलिरहेको छ। तर, यति ठूलो वर्षा अत्यन्त दुर्लभ मानिन्छ। यसअघि सन् २००३ मा आएको बाढी यस शताब्दीको सबैभन्दा ठूलो प्रकोप थियो, जसमा २५४ जनाको मृत्यु भएको थियो।
दक्षिण-पूर्व एसियाका अन्य देशहरू इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा पनि ठूलो बाढीले लाखौँ मानिस प्रभावित भएका छन्।
The post बाढी र पहिरोमा परी ३३० जनाभन्दा बढीको मृत्यु भएपछि श्रीलंकाले गर्यो संकटकाल घोषणा appeared first on BIZMANDU.