PalikaNews
सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्र बन्दै
भोजपुर – सिद्धकाली शक्तिपीठ हाल धार्मिक पर्यटनको प्रमुख केन्द्रको रूपमा क्रमशः विकास हुँदैछ ।
स्थानीय धार्मिक विश्वासअनुसार, स्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भएपछि यो शक्तिपीठ उत्पन्न भएको बताइन्छ । यही कारणले देश–विदेशबाट भक्तजनहरू नियमित दर्शनका लागि यहाँ आउने गरेका छन् ।
स्थानीय पण्डित कमल दाहालका अनुसार, सिद्धकालीको दर्शन गरेमा रोग–व्याध नष्ट हुने, सुख–शान्ति प्राप्त हुने र जीवनमा समुन्नति हुने धार्मिक विश्वास रहेको छ। विशेष गरी आश्विन र चैत्र शुक्लपक्ष, एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावण महिनामा यहाँ विशेष पूजा र आयोजनाहरू हुने गर्छन् ।
शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण र हनुमान् मन्दिर रहेका छन्। आसपासका क्षेत्रमा भने सिद्ध गुफा र नारायण गुफा रहेका छन्, जसको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।
स्थानीय प्रशासन र धार्मिक संस्थाहरूले यहाँको धार्मिक पर्यटनलाई अझ व्यवस्थित र पहुँचयोग्य बनाउने प्रयास गरिरहेको र आगामी वर्षमा अधिक धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।