npl.977 Nepal News Stream

Sutra News logo Sutra News

कांग्रेस फुटाउने त्यो ‘अन्तर्राष्ट्रिय शक्ति’ को हो ?

सुत्र न्युज 6 hours ago

काठमाडौं । नेपाली कांग्रेस लामो रस्साकसीका बिच बुधबार विभाजन भएको छ । विभाजनको औपचारिकता कुरेको कांग्रेसभित्र शेरबहादुर देउवा र गगनकुमार थापा सभापति रहेका ‘दुई कांग्रेस’ क्रियाशील भएका छन् ।

देउवा समूहको विरोध र असहमतिका बिच बुधबार मध्यराति काठमाडौंको भृकुटीमण्डमा चार दिनदेखि चलेको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ । गगन समूहले विशेष महाधिवेशनको निर्णयसहितका दस्तावेज निर्वाचन आयोगमा बुझाएर आधिकारिकता दाबी गरिसकेको छ । यता देउवा समूह पनि आधिकारिकता दाबीका लागि कानुन व्यवसायीसँगको छलफलमा जुटेको छ । अर्थात् कांग्रेस दुईवटा भएको छ, चारतारे झण्डा र रुख चिह्न कुन समूहले पाउने भन्ने निक्र्यौल हुन बाँकी छ । यो विषय न्यायिक निरुपणबाट टुंगिएला ।

तर, कांग्रेस यो अवस्थामा आइपुग्नुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको भूमिका रहेको नेता शेखर कोइरालाको बुझाइ छ । पार्टीको विवाद समाधानका क्रममा दृष्यमा देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट गुज्रिनुपरेको बताएका नेता कोइराला कांग्रेस विभाजनमा अन्तर्राष्ट्रिय शक्तिको भूमिका स्वीकार्दै भन्छन्, ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस बिच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’ यद्यपि, कांग्रेस विभाजनमा कुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भूमिका रह्यो भन्नेमा नेता कोइरालाले खुलाएका छैनन् ।

बिहीबार वक्तव्य जारी गरेर मूल कांग्रेसमा फर्कन सबैलाई आग्रह गरेका उनले एकताबद्ध भएर आगामी निर्वाचनमा जानुपर्ने बताएका छन् ।
पार्टी विभाजनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय तानाबुना रहेकोदेखि निर्वाचनमा एकताबद्ध भएर जानलाई मूल कांग्रेसमा फर्कन नेता कोइरालाले आग्रह गर्दै जारी गरेको वक्तव्य :

साथीहरु,

कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन ।

यस बिचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु ।

दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस बिच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो ।

विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो ।

विपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु ।

अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक ऊर्जा प्रस्फुटन भएर मात्र हामी इतिहासले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।
यसको लागि सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहास छन्, साझा नेता र शहीदहरु छन् । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ ।
हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहीद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन ।
नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरि तपार्इं हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहीदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपार्इंहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।

पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू : हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल ।

डा शेखर कोइराला
२०८२ माघ १

Read more news from Sutra News

Explore by Source or Category