PalikaNews
नगर–नगरबीचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कूटनीतिक साइनोका रूपमा स्थापित गर्नुपर्छ : डंगोल
काठमाडौं — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कूटनीतिक साइनोका रूपमा स्थापित गर्नुपर्ने बताएकीछन् ।
बिहिबार सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौं–फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरू रामरोहन पन्त र सिर्जना सिथिखुसहितको टोलीसँगको भेटमा उनले सहरहरूबीचको सहकार्यलाई परिणाममुखी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिईन् ।
“सहरहरूका बीचका साझा मुद्दाहरू पहिचान गरौँ। आपसी कार्यक्रम तय गरौँ। नागरिक कूटनीतिक साइनो निर्माण हुने अर्थपूर्ण सम्बन्धमा सक्रिय बनौँ,” दिगो सम्बन्धबारे धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, “नागरिकलाई लाभ हुने कार्यक्रम दिगो र प्रभावकारी हुन्छन्।”
भेटका क्रममा नेपाल प्रतिनिधि कापाराले सिटी अफ फेडरिसवर्गका मेयर केरी डेभिनद्वारा कार्यवाहक प्रमुख डंगोललाई पठाइएको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरिन् । पत्रमा अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसका अवसरमा नगरले आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
मेयर डेभिनले पत्रमार्फत दुई नगरबीच फोहर व्यवस्थापन, वातावरणीय सुधार, युवा नेतृत्व विकास, सांस्कृतिक पर्यटन प्रवद्र्धन तथा विश्वविद्यालयका विद्यार्थीहरूबीच सिकाइ आदान–प्रदानजस्ता कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरे ।
त्यसैगरी, कापाराले सिस्टर सिटी इन्टरनेशनलको ७० औँ वार्षिकोत्सवका अवसरमा जुलाई २०२६ मा वासिङ्टनमा आयोजना हुने कार्यक्रममा समेत निमन्त्रणा दिईएको जानकारी दिए ।
कार्यक्रमबारे जानकारी दिँदै कापाराले संयुक्त राज्य अमेरिकाका अधिकांश स्थानमा नेपाली समुदायको उपस्थिति रहेको उल्लेख गर्दै नगर–नगर सम्बन्धलाई सुदृढ बनाउन उक्त समुदायलाई जोडेर सहकार्यका कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।
उनले आपसी समझदारी र सक्रिय सहभागितामार्फत दुवै सहरका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू अघि बढाउन सकिने बताए ।
काठमाडौं र फेडरिसवर्गबीच भगिनी सम्बन्ध स्थापना गर्न २०७४ असोज २४ गते (१० अक्टोबर २०१७) औपचारिक हस्ताक्षर भएको थियो। यसअघि २०७२ सालदेखि नै दुई नगरबीच पत्राचार र संवादको प्रक्रिया सुरु भएको थियो ।
महानगरले भगिनी सहर अवधारणालाई सांस्कृतिक, शैक्षिक, वातावरणीय तथा प्रशासनिक सहकार्य विस्तार गर्ने माध्यमका रूपमा लिँदै आएको छ ।