Taksar News
भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ
काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते नेपालमा ‘प्रतिक्रान्ति’ भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालको सोमबारको कार्यक्रममा उहाँले जेनजीको नाममा वाह्य शक्तिहरूले नेपाललाई नियन्त्रणमा लिएको आरोप लगाए ।
उनले भने, “नेपालका तीन वटै संस्थालाई कोल्याप्स पारिएको छ। निर्वाचित प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाइएको, संविधान विपरित नयाँ सरकार गठन गराएर संसद विघटन गरिएको, व्यवस्थापिका र कार्यपालिकालाई आफ्नै नियन्त्रणमा लिएको र न्यायपालिकालाई तहसनहस पारिएको छ। यसकारण भदौ २३ र २४ को घटना प्रतिगमन हो र देशमा प्रतिक्रान्ति भएको हो।”
उपमहासचिव गुरुङले एमालेले यस प्रतिक्रान्तिलाई सच्याउने अभियानमा लागेको बताए । उनका अनुसार निर्वाचन वा विघठित संसद पुनःस्थापना गरेर प्रतिक्रान्ति सच्याउन सकिन्छ। तर, उनले हालको सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने दाबी गरे । प्रतिक्रान्ति भएका अन्य मुलुकहरूमा बनेका सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन नसकेको उदाहरणहरू पनि उनले प्रस्तुत गरे ।
उनले भने, “विदेशी शक्तिले चाहेको पात्र नआएसम्म निर्वाचन हुँदैन। हालसम्म उनीहरूले नेपालमा आफ्नो इच्छाअनुसार पात्र पाएका छैनन्। जबसम्म उनीहरूले चाहेको पात्रले जित्ने अवस्था आउँदैन, तबसम्म निर्वाचन टार्न उनीहरूले विभिन्न प्रयास गरिरहेका छन्। निर्वाचन नगर्न एमालेका नेताहरूमाथि स्थानहद तोकिएको छ।”
गुरुङले थपे, “जनताले ७५ वर्ष संघर्ष गरेर बनाएको संविधान च्यातियो। हाम्रो राज्यका सबै अंगमा बाह्य हस्तक्षेप भयो। प्रतिक्रान्ति सच्याउने माध्यम चुनाव वा विघठित संसदको पुनःस्थापना हो, अवैधानिक सरकारद्वारा नाटक मञ्चन गरिएका चुनावबाट होइन।”
उनले एमालेले निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो र पार्टीले चुनावबाट भाग्ने भनेर भ्रम फैलाइएको आरोप लगाए ।