कांग्रेस विभाजनको संघारमा, सम्झौता नगरी अघि बढे गगन-विश्वलाई कारबाही गर्ने संस्थापनको तयारी
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार अपराह्न सुरू दोस्रो चरणको वार्ता बिनानिर्णय टुंगिएको छ।
सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको ‘बटमलाइन’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो।
वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए। यसको विकल्पमा देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरी राजनीतिक रूपमा निस्क्रिय हुनुपर्ने माग गरिएको थियो।
संस्थापन पक्षसँग सहमतिका लागि सोमबार दिउँसोबाट नै प्रयास भएको थियो । आज दिनभर पनि संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच वार्ता भएको थियो । तर वार्तामा संस्थापन पक्ष विशेष महाधिवेशन पक्षधरहरूले राखेको प्रस्तावमा टसमस भएन ।
विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने लगायतका प्रस्तावहरू राखेका थिए । तर यो प्रस्तावमा संस्थापन पक्ष तयार भएन ।
विशेष महाधिवेशन पक्षधरले यी दुवै विकल्प अगाडि सर्दा संस्थापन पक्षका वार्ताकारहरूले ‘सभापतिको कुरा उहाँले नै भन्नुपर्छ, उहाँसँगै सोध्नुपर्छ’ भनेपछि वार्ता टुंगोमा नपुगेको सहभागी एक नेताले जानकारी दिए।
पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ । पार्टी कार्यालयमा पुगेका संस्थापन निकट केही नेताहरूले अब प्रक्रिया गगन थापा लगायतका नेताहरूलाई कारबाही निर्णय हुनसक्ने बताएका छन् । आज राती नै कुनै सहमतिको विन्दु नभेटे भोलि बस्ने बैठकले त्यो निर्णय गर्न सक्छ ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब यही सन्देश लिएर जाने उद्घोष गरेका छन् ।
उनले अब कुनै पनि निर्णयहरू जारी महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने भन्दै उनले बाहिर चलिरहेको सहमतिको कोशिसले निष्कर्षमा पुन जटिल रहेको संकेत गरेका छन् ।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । उनले पार्टीलाई नवीन उर्जा लिएर आउने पनि उद्घोष गरेका छन् ।
विशेष महाधिवेशनमा बन्दसत्र चलिरहँदा मंगलबार दिउँसोबाट नै नेतृत्व चयनको लागि चुनावी प्रक्रिया अघि बढेको छ । नेतृत्वदायी पदमा आउनका लागि आकांक्षीहरूले फारम लिइरहेका छन् ।
महामन्त्री थापाले विशेष परिस्थितिमा अहिले विद्रोह अन्तर्गत महाधिवेशन भएकाले नेतृत्वका आकांक्षीहरूलाई अहिले उदार बन्न अपिल गरेका छन् ।
‘अब प्रक्रिया अघि बढिसकेको छ । कसैले यसलाई दखल अन्दाज गर्न मिल्दैन । हामीले छोटो समयका लागि यो नेतृत्व हाँक्ने हो । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो । सबैले म यो पदमा जानुपर्छ भन्ने सोच्न छोड्दिनुभयो भने यहाँ आउनुको अभियानको सार्थकता हुन्छ’ महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भने ।
महाधिवेशनलाई नै संस्थापन पक्षले अवैधानिक भन्दै आएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । यता विशेष महाधिवेशन पक्षधरले के गर्छन् भन्ने पर्ख र हेरको नीतिमा रहेर संस्थापन पक्षका नेताहरूले बैठक गरेनन् । साँझ छोटो समयका लागि बैठक राखेर बुधबार बिहानका लागि बैठक सारिएको छ ।
यता विशेष महाधिवेशन पक्षधरहरूले पनि संवादलाई टुटाएका चाहिँ छैनन् । विशेष महाधिवेशन पक्षधरबाट गुरुराज घिमिरे, प्रदीप पौडेल, देवराज चालिसेले कुरा गरिरहेका छन् । तर, कुराकानी महाधिवेशनलाई अल्झाउने खालको रणनीतिमा मात्र केन्द्रित भएको देखिएपछि विशेष महाधिवेशन आफ्नो प्रक्रियामा भने रोकिएको छैन ।
मंगलबार विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने विन्दुमा पुगेको छ । नीतिबारे त दुई जना महामन्त्रीहरू प्रस्ताव पारित भएपछि टुंगिइनै सकेको छ । अब नेतृत्वबारे भने बुधबार टुंगो लाग्दैछ ।