कथा : साहसको बर्दी
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न ६ को एउटा गाउँबाट एक सानो बालक आफ्नो बुबासँगै सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको मेला महोत्सव हेर्न गएको थियो।
मेलामा निकै भीडभाड थियो, गीत–सङ्गीत र अनेकौँ किसिमका रमाइला खेलहरू चलिरहेका थिए। तर, रोमान्चित भीडको बीचमा अचानक त्यो सानो बालक बुबाबाट छुट्टिएर हरायो। छोरालाई खोज्दै बुबा चारैतिर भौँतारिरहे। रोइरहेको त्यो बालकलाई सबैले हेरे, तर कसैले पनि उसको जिम्मा लिएनन्।
त्यसै बेला प्रहरीको निलो सर्ट र कालो पाइन्टसहितको पोशाकमा दुई जना जवान त्यहाँ आइपुगे। उनीहरूले बालकलाई सम्हाल्दै सोधे, “बाबु, तिम्रो नाम के हो? तिमी कहाँ बस्छौ?” बालक डराएको स्वरमा उत्तर दिन नसके पनि प्रहरी जवानहरूले उनलाई शान्त पारे र नाम सोधे। ती बालकले आफ्नो बुबाको नाम रविन बताए। प्रहरीले ती बालकलाई काँधमा बोकेर मेला आयोजना भएको कार्यक्रमस्थलमा गएर स्थानीय घोषणा (माइकिङ) मार्फत सूचना गरिदिए।
केही समयमै उसका बुबा आएर छोरालाई अँगालोमा हाल्दा सबैको अनुहारमा राहतको मुस्कान छायो।
यो घटनाले गाउँ र महोत्सवमा उपस्थित सबैलाई एउटा मीठो पाठ दियो: प्रहरी केवल चोर र अपराधी समात्ने मात्र नभई, जनताको सुरक्षाका लागि २४सै घण्टा सधैँ तयार रहने साथी पनि रहेछ।
त्यो दिनदेखि त्यो बालकले आफू ठूलो भएपछि प्रहरी बन्ने सङ्कल्प गर्यो। उसका आँखामा टिलपिल टिलपिल आँसु आइरहे पनि, प्रहरीको साहस र इमानको बर्दी उसको आँखामा चम्किरहेको थियो।