‘नेपाल आइडल जुनियर’ मा अस्मिता र महेश : पत्नि निर्णायक, पति कार्यक्रम प्रस्तोता
काठमाडौँ- चर्चित गायिका अस्मिता अधिकारी टिभी रियालिटी सो ‘नेपाल आइडल जुनियर’को निर्णायकमा नियुक्त भएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत अधिकारीले आफू नेपाल आइडल जुनियरको निर्णायक बनेको जानकारी दिएकी हुन्।
अस्मिताले लेखेकी छन्, ‘नेपाल आइडल जुनियरको निर्णायकमा आबद्ध भएकी छु। धेरै समय भएको छैन, प्रतिस्पर्धीको रूपमा नेपाल आइडलको मञ्चमा उभिँदै डराउँदै-डराउँदै ‘मेरो प्यारो मान्छे तिमी’ गाएर अडिसन दिएको। त्यसपछि तपाईंहरूबाट पाएको अपार माया र विश्वासकै उपहारस्वरूप, स्टुडियो र स्टेज हुँदै आज फेरि उही मञ्चमा फरक जिम्मेवारीका साथ फर्किन पाएकी छु।’
साथै उनका पति गायक महेश काफ्ले सो को कार्यक्रम प्रस्तोतामा आबद्ध भएको पनि उनले बताएकी छन्। उनीहरू पति÷पत्नि हुन्। यसर्थ ‘नेपाल आइडल जुनियर’ मा महेश र अस्मिता दुबै फरकफरक कार्यमार्फत जोडिएका छन्।
‘कार्यक्रम प्रस्तोताको रूपमा आफ्नै श्रीमान महेश काफ्ले ज्यू आबद्ध हुनु भएकाले कार्यक्रम अझ रोचक र स्मरणीय बन्ने आशा लिएकी छु,’ उनले लेखेकी छन्।
‘नेपाल आइडल’ ले नै जुनियर संस्करणमा ‘नेपाल आइडल जुनियर’ प्रसारण गर्ने लागेको हो। गायिका अस्मितासँगै निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तान रहने बताइएको छ।
गायक महेशसँगै कार्यक्रममा प्रस्तोताका रूपमा काफ्ले डाक्टर सरिशा श्रेष्ठ आबद्ध भएके आयोजकले जनाएको छ। सरिशा पूर्वमिस नेपाल अर्थ हुन्।
सो को अहिले डिजिटल अडिसन सञ्चालन भइरहेको छ। सो मा १४ वर्ष मुनिका बालबालिकाले अडिसन दिन पाउनेछन्। आयोजकका अनुसार डिजिटल अडिसनबाट छनोट भएका प्रतिभालाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ।
प्रसारण एपी वान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम अंग्रेजी समय आगामी अप्रिल देखि हुनेछ।