अदालतको आदेश बुझ्न नमानेको एन्फा बैठक बस्दै
काठमाडौं (हाम्रो खेलकुद)- उच्च अदालत पाटनको आदेशको अपहेलना गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
उच्च अदालतले सोमवार उम्मेदवारी दर्ता लगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन एन्फालाई अन्तरिम आदेश जारी गरेको थियो । आदेश बुझ्न अस्वीकार गरेको एन्फाका महासचिव किरण राईले मंगलवार निर्वाचन सँग सम्बन्धित विषयमा सदस्य संस्थाका अध्यक्षलाई पत्रचार गरेका थिए।
एन्फाको माघ २८ गते झापामा हुे एन्फा साधारण सभामा भाग लिने प्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धित व्यक्तिहरुको बैंक खातामा पठाउने पत्राचार गरिएको थियो।
सोही साधारण सभामा पेश गर्ने लेखापरीक्षण प्रतिवेदनका बारे सहित अन्य विषयमा छलफल गर्न आज बिहान ८ बजेका लागि बैठक बोलाइएको बताइएको छ । बिहान ९:३० बजेसम्म पनि बैठक भने सुरु गरिएको छैन।
अदालतको आदेशका विषयमा पनि बैठकमा छलफल हुने सक्ने बताइएको छ। निर्वाचन समितिले मनोनयन पत्र पनि दर्ता गरिरहेको बुझिएको छ।
अन्तरिम आदेश
एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया उच्च अदालत पाटनले सोमवार अस्थायी रुपमा रोक्न आदेश दिएको थियो ।
अदालतले उम्मेदवारी दर्ता लगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो।
न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सुनुवाइ गर्दै निर्वाचन प्रक्रियामा तत्काल रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशअनुसार पुस २१ गते नयाँ पत्रिका दैनिक मा प्रकाशित सूचनाका आधारमा सुरु गरिएको उम्मेदवारी दर्ता फारम बुझ्ने कार्यसहित निर्वाचनसँग सम्बन्धित अन्य कुनै पनि गतिविधि हाललाई नगर्न नगराउन विपक्षीहरूलाई निर्देशन दिइएको थियो।
एन्फाले पुस २८ गतेसम्ममा प्रतिनिधिको नाम पठाउन सदस्य संस्थाका नाममा पत्र काटेको थियो। त्यस्तै माघ ३ गते भित्र उम्मेदवारीदर्तासहितको निर्वाचन तालिका सार्वजनिक गरेको थियो।
पुस १६ गते बसेको एन्फा कार्यसमितिको बहुमतको निर्णयका आधारमा माघ २८ गते झापामा केन्द्रीय समिति निर्वाचित गर्ने निर्णय गरेको थियो।
त्यो निर्णयका विरुद्धमा एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) निवेदन दिएका थिए। एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो।
राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न भन्दै पत्र काटेको थियो। त्यसका बाबजुद एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले रिट दायर गरेका थिए। खत्री एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको सचिवालयका पूर्व कर्मचारी हुन्।
अन्तरिम आदेशमा छलफल हुने
अदालतले अन्तरिम आदेशको मागसम्बन्धी विषयमा दुवै पक्षलाई छलफलका लागि मिति माघ ६ गते पेशी तोकेको छ। सो मितिसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।
साथै अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई म्याद सूचना जारी गर्न आदेश दिएको छ।
खत्रीले राखेप समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको मागसहित रिट निवेदन दायर गरेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित अधिवक्ताहरू अपूर्व खतिवडा, सुमन कुमार के.सी. र रोचक रेग्मीले बहस गरेका थिए।


The post अदालतको आदेश बुझ्न नमानेको एन्फा बैठक बस्दै first appeared on हाम्रो खेलकुद.