npl.977 Nepal News Stream

Himal Press logo Himal Press

परिवर्तित र सबैलाई जोड्ने कांग्रेस नै आजको कांग्रेस हो : डा. डिला संग्रौला

Ramesh Dawadi 3 hours ago

डा. डिला संग्रौला पन्त नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेतृ हुन्। नेविसंघ र नेपाल महिला संघबाट राजनीतिक यात्रा सुरु गरेकी उनी कांग्रेसको आदर्श र सिद्धान्तमा दीर्घकालीन रूपमा सक्रिय रहँदै आएकी छन्। दाङमा जन्मिएकी डिला विद्यार्थी कालमै प्रजातान्त्रिक आन्दोलनप्रति आकर्षित भइन्। नेपाल महिला संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकी उनले १३औँ महाधिवेशनबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा जित हासिल गरिन्। २०७४ सालमा समानुपातिक सांसद बनेकी डिला छाया सरकारमार्फत प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने नेतृका रूपमा पनि चिनिन्छिन्। १४औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बनेकी डिला हाल पार्टी रूपान्तरण र पुस्तान्तरणका पक्षमा सक्रिय नेतृका रूपमा उभिएको बताउँछिन्। बदलिएको परिवेशनमा कांग्रेसको अवस्थाबारे डा. पन्तसँग रमेश दवाडीले गरेको  कुराकानी :

विशेष महाधिवेशनबाट सहमहामन्त्री हुनुभयो, कस्तो अनुभूति गर्नुभएको छ?

स्वाभाविक रूपमा लिन्छु। नेपाली कांग्रेसको राजनीतिभित्र, महिलाको जागरण र चेतनाभित्र मेरो यात्रा लामो र निरन्तर छ। नेपाललाई नजिकबाट बुझ्ने, ७७ वटै जिल्ला पुगेकी छु। त्यहाँको भूगोल बुझेकी छु। म नेपाली कांग्रेसको समग्र भावनालाई नजिकबाट बुझ्नेमध्येमा पर्छु। १४औँ महाधिवेशनमै तपाईँ महामन्त्री बन्नुपर्छ भनेर साथीहरूले भन्नुहुन्थ्यो। केन्द्रीय सदस्यभन्दा माथि जानुपर्छ, जिम्मेवारी सम्हाल्नुस्, हामी महिला पछाडि पर्‍यौँ भन्नुहुन्थ्यो। आज परिवर्तनका लागि, रुपान्तरणका लागि नयाँ जिम्मेवारी थपिएको छ। म जिम्मेवारीबोध गर्छु र पार्टीलाई रूपान्तरणका पक्षमा, सुशासनका पक्षमा, सम्मानित नेपाली, समुन्नत जनता बनाउने अभियानमा म निरन्तर लागिरहनेछु। त्यही अनुभूतिभित्र म छु।

विशेष महाधिवेशनमा महिलाको प्रतिनिधित्व, पदका लागि असन्तुष्टि अथवा समग्रमा महिलाको अवस्था कस्तो रहेको थियो?

महाधिवेशनमा महिलाको प्रतिनिधित्व देखेर म छक्क परेँ। देशभरबाट महिलाको प्रतिनिधित्व अत्यधिक थियो। कर्णाली प्रदेश जसलाई विकट भनेर भाष्य बनाइएको छ, त्यहाँबाट पनि साथीहरू जुर्मुराएर आइपुग्नुभएको थियो। लामो समयसम्म नेपाली कांग्रेसभित्र हामीले परिवर्तन गर्न सकेनौँ। अवसरको असमान वितरण भयो। सबैलाई संरक्षण दिन सकेनौँ। एउटा व्यक्ति पद पाइरहने, अर्को व्यक्ति झोला र डन्डी बोकिरहने परिस्थिति रह्यो। परिवर्तनका पक्षमा विशेष महाधिवेशनमा सबै प्रदेशबाट महिलाको उल्लेखनीय उपस्थिति रह्यो। त्यसैको प्रतिनिधित्व स्वरूप महिला कोटाबाट सहमहामन्त्रीमा मेरो जिम्मेवारी बढेको छ। दायित्वबोध छ र नेपाल महिला संघको अध्यक्ष हुँदा मेचीमहाकाली पुगेर महिलाको जागरण र चेतनास्तर बढाउँदै अवसरका लागि लडिरहेँ। फेरि मेरो लडाइँ निरन्तर रहिरहनेछ।

नेपाली कांग्रेस कसरी अगाडि बढ्छ?

नेपाली कांग्रेस एउटा अभियान पनि हो। परिवर्तन पनि हो। संघर्ष पनि हो। बीपी कोइरालालाको पालादेखि नै यो जारी छ। अहिलेको अधिवेशन पनि होइन, विशेष महाधिवेशन हो। सर्वोच्च निकाय भनेको महाधिवेशन प्रतिनिधि हो। महाधिवेशनले गरेको निर्णयलाई सर्वस्वीकार्य गरेर अगाडि बढ्नुपर्छ। अधिवेशनबाट हामीले जिम्मेवारी पाएका छौँ। हाम्रो अगाडि निर्वाचन छ। ६ गते मनोनयन छ। निर्वाचनमा नेपाली कांग्रेस जनतासमक्ष परिवर्तित सन्दर्भमा परिवर्तित एजेन्डा लिएर जानुपर्नेछ।

विशेष महाधिवेशन वैधानिक हो कि होइन भन्नेमै प्रश्न उठेको छ। यसबारे के भन्नुहुन्छ?

नेपाली कांग्रेसको विधानको धारा १७ को २ अनुसार ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा महाधिवेशन गर्नुपर्ने छ, हुनुपर्ने छ भनेर लेखिएको छ। पार्टीको कार्यकारिणी भनेको महामन्त्री हुन्छ। प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरे। महामन्त्रीहरूले माग गर्नुभयो। विशेष महाधिवेशन विधानतः नेतृत्व परिवर्तन विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको छ। यो नै वैधानिकताको पहिलो आधार हो। केन्द्रीय कार्यसमितिको पदावधि सकिएको, विघटित भएको कार्यसमिति हो। यसै पनि पदाधिवधि सकिएको थियो। अधिवेशन गर्नुपर्ने थियो, त्यो अधिवेशन विधानसम्मत भएको हुनाले यसले कानुनी वैधता ग्रहण गर्छ। अधिवेशन गरेको सम्पूर्ण रेकर्ड, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान यी सबैलाई अद्यावधिक गरेर बिहीबार निर्वाचन आयोगमा वरिष्ठ अधिवक्तासहित गएर अद्यावधिक गरेका छौँ।

विशेष महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक कस्तो लाग्यो?

नयाँ चाहना र परिवर्तनसहितको बैठक हुनाले हामीमा उमंग आउनु स्वभाविकै हो। नयाँ नेपाल निर्माणका लागि मार्गचित्र बनाएर कसरी अगाडि जानुपर्छ भनेर लागेका छौँ। सिंगो नेपाली कांग्रेसभित्र यात्री, सहयात्री भएकी हुनाले धेरै उतारचढाव मैले देखेकी छु। धेरै उकालीओरालीको पनि समाधान गरेका छौँ। त्यसैले पहिलो बैठक स्वभाविक रुपमा लिन्छु।

हामीप्रति देशभरका साथीहरूले जसरी आशा र भरोसा गर्नुभएको छ त्यो आशा र भरोसा हामी मर्न दिँदैनौँ। बदलिएको कांग्रेस, बदलिएको भावनाको सम्बोधन गर्न तयार र सक्षम छौँ।

नेपाली कांग्रेसका नेताकार्यकर्ता र शुभेच्छुकहरू के भन्नुहुन्छ?

जेनजी विद्रोहपछिको नेपाल र कांग्रेस बेग्लै छ। सबैको भावना र चाहना नै परिवर्तन हो, थियो, छ। हिजो हामीले आफूलाई समयसापेक्ष रुपान्तरण गर्न सकेनौँ। समग्र साथीहरूको भावना समेट्न सकेनौँ। चाहे त्यो राष्ट्रियसभामा होस् चाहे समानुपातिकमा होस्। त्यहाँ पुरानोशैली पुनरावृत्ति भयो। त्यसैको परिवर्तनका लागि आज महाधिवेशनले नयाँ नेतृत्व चयन गरेर आएको छ। परिवर्तित कांग्रेस, समयमा तपाईँ आउनुहोस्। जुटौँ। मुलुक विकास, सबैलाई नेताकार्यकर्तालाई न्याय हुने कांग्रेस निर्माणमा जुटौं भन्न चाहन्छु।

केही नेताहरूले यहाँहरूलाई घर फर्क भन्नुभएको छ। यहाँको धारणा के छ?

हामी घरभित्रै छौँ। बाहिर छैनौँ। चार दिनसम्म महाधिवेशन प्रतिनिधिले चट्टानी अडानसहित परिवर्तनको हुटहुटीलाई आत्मसात् गर्दै नेतृत्व छान्नुभयो। उहाँहरूको त्यो आशा, भरोसालाई डगमगाउन दिने छैनौँ। परिवर्तित कांग्रेस, सबैलाई जोड्ने कांग्रेस नै आजको कांग्रेस हो।

Read more news from Himal Press

Explore by Source or Category