दुबईमा ठग गिरोह सक्रिय, प्रहरीले भन्यो- आफूलाई संकट व्यवस्थापन अधिकारी भन्नेसँग तर्क हुनुस्
द्वन्द्वले खाडी क्षेत्र अस्तव्यस्त हुन थालेका बेला दुबईमा ठगको गिरोह सक्रिय भएको छ। दुबई प्रहरीले क्षेत्रीय द्वन्द्वको अवस्थालाई दुरुपयोग गर्दै आफूलाई ‘संकट व्यवस्थापन’ अधिकारी बताउने ठगी गिरोह सक्रिय भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।
गत शनिबार अमेरिका र इजरायलले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसक्रममा दुबईमा विस्फोटजस्ता आवाज सुनिएको र आकाशमा उज्याला रेखाहरू देखिएको स्थानीयले बताएका छन्। हवाई सुरक्षा प्रणालीले प्रक्षेप्यहरू अवरोध गर्दा सहरका केही भागमाथि धुवाँका मुस्लोसमेत देखिएका थिए।
यसबीच, दुबई प्रहरीले एक्स (पहिले ट्विटर) मा सूचना जारी गर्दै ‘संकट व्यवस्थापन’ विभागका कर्मचारी भन्दै फोन गर्ने ठगहरूबाट सावधान रहन आग्रह गरेको छ। उनीहरूले आफूहरू दुबई प्रहरीसँग सम्बन्धित रहेको झुटो दाबी गर्दै गोप्य विवरण माग्ने प्रयास गरिरहेका छन्।
प्रहरीका अनुसार, यस्ता गिरोहले विशेषगरी ‘यूएई पास’को लगइन विवरण, इमिरेट्स आईडी सम्बन्धी सूचना, बैंक खाताको जानकारी तथा भेरिफिकेसन कोड मागिरहेका छन्। यस्ता विवरण साझा गरेमा ‘सिम स्वाप’ ठगी हुन सक्छ।
‘सिम स्वाप’ ठगीमा पीडितको मोबाइल नम्बर अपराधीले नियन्त्रण गर्ने नयाँ सिम कार्डमा सारिन्छ। त्यसपछि बैंकबाट आउने सन्देशहरू उनीहरूले अवरोध गर्न सक्छन् र मोबाइल बैंकिङ एपमा प्रवेश गरेर केही मिनेटमै रकम चोरी गर्न सक्छन्।
ठगहरूले यूएई पास लगइन, इमिरेट्स आईडी विवरण र भेरिफिकेसन कोडहरू सापटी मागेर फोन नम्बरलाई नयाँ सिममा सार्ने (सीम स्वाप) जस्ता योजनाहरू बनाएको तथ्य प्रहरीले फेला पारेको छ। जसबाट सम्बद्ध व्यक्तिको मोबाइल बैंकिङ र अन्य खाता ठगले पहुँच बनाएर लुट्ने घटना हुनसक्छ।
दुबई प्रहरीले कुनै पनि अवस्थामा फोन वा सन्देशमार्फत गोप्य जानकारी वा भेरिफिकेसन कोड न माग्ने स्पष्ट पारेको छ। साथै सुरक्षा प्रणाली सक्रिय रहेको र अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
सर्वसाधारणलाई शान्त रहँदै सतर्कता अपनाउन र शंकास्पद गतिविधि देखिए तुरुन्त ९०१ नम्बरमा सम्पर्क गर्न वा साइबर अपराध उजुरीका लागि आधिकारिक इक्राइम प्लेटफर्ममार्फत जानकारी दिन आग्रह गरिएको छ।
The post दुबईमा ठग गिरोह सक्रिय, प्रहरीले भन्यो- आफूलाई संकट व्यवस्थापन अधिकारी भन्नेसँग तर्क हुनुस् appeared first on BIZMANDU.