npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

मर्चवारी गाउँपालिकाको नाम र प्रशासनिक केन्द्र दुवै परिवर्तन

पालिका ब्यूरो 1 week ago

काठमाडौं – रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र प्रशासनिक केन्द्र दुवै परिवर्तन गरिएको छ । मङ्सिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाउँपालिकाको नाम ‘मर्चवारी’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ राख्ने निर्णय गरेको हो ।

यससँगै गाउँपालिकाको केन्द्र साविक वडा नं. ३ रायपुरबाट सारेर वडा नं. ४ खैरामा स्थानान्तरण गरिएको छ । गाउँपालिकाका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मर्चवारीमाई भगवतीको मन्दिरलाई आधिकारिक पहिचानसँग जोड्दै नयाँ नाम ‘मर्चवारीमाई’ राखिएको हो । उक्त मन्दिर यस क्षेत्रको प्रमुख पुरातात्त्विक तथा धार्मिक स्थलमध्ये मानिन्छ ।

केन्द्र खैरामा सरेपछि विभिन्न वडाका स्थानीयबासीलाई सेवा–सुविधा प्राप्त गर्न अझ सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईका अनुसार लामो समयदेखि केन्द्र परिवर्तनको प्रस्ताव मन्त्रीपरिषद्मा पठाइए पनि हाल आएर मात्र स्वीकृत भएको हो ।

अध्यक्ष बरईले प्रशासनिक केन्द्र पुरानै स्थानमा रहेकाले गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणमा समेत ढिलाइ भएको बताए । “नयाँ निर्णयले गाउँपालिकाको प्रशासनिक तथा भौगोलिक संरचनामा नयाँ अध्याय सुरु गरेको छ,” उनले बताए, “अब यसलाई कार्यान्वयन गर्न आवश्यक तयारी अघि बढाइनेछ ।”

गाउँपालिकामा नाम तथा केन्द्र परिवर्तनसँगै सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन र विकास गतिविधि सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category