PalikaNews
२५ वर्षपछि कुमारी घरको सांस्कृतिक सम्पदा तोरणले फेरी पायो गृहप्रत्यावर्तन
काठमाडौं – वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान ‘कुमारी घर’बाट विसं २०५६ तिर चोरी भएको ऐतिहासिक तोरण करिब २६ वर्षपछि पुनःस्थापित गरिएको छ। काठमाडौँ महानगरपालिकाले मंसिर १ गते उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले तोरणलाई पूर्ववत् स्थानमा जडान गर्ने निर्णय गरेको थियो।
चोरीपछि तोरण संयुक्त अधिराज्य वेलायतस्थित बाराकाट संग्रहालयमा भेटिएको थियो। त्यहाँबाट औपचारिक रूपमा फिर्ता ल्याएपछि तोरण केही समय राष्ट्रिय संग्रहालय, छाउनीमा सुरक्षित राखिएको थियो।
तोरण पुनःस्थापनाअघि उपप्रमुख डंगोलसहित सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २३ का अध्यक्ष तथा विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्य लगायतको टोली छाउनी संग्रहालय पुगेर तोरण बुझी हस्ताक्षर–औँठाछाप गरेर कुमारी घर ल्याइएको थियो। पुनःस्थापनाको क्रममा स्थानीयवासी तथा सम्पदा संरक्षणकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।
प्राचीन स्मारक ऐन २०१३ को दफा २० (क) बमोजिम स्थानीय तह र जिल्ला प्रशासनको सिफारिसका आधारमा गुठियारलाई जिम्मेवारीसहित तोरण मूल स्थानमै पुनःस्थापित गरिएको हो। कुमारी घरको भुइँतलाको बायाँतर्फको पाँचौँ झ्याल माथि राखिने यो तोरण १७–१८ औँ शताब्दीमा निर्माण भएको काठको अर्धगोलाकार ‘क्षेपु’ आकृतिको कलाकृति हो। यसको लम्बाइ १०४.५५ सेमी रहेको छ।
पुनःस्थापनापछि उपप्रमुख डंगोलले हराएका वा चोरी भएका सम्पदालाई फिर्ता ल्याएर पुनःस्थापित गर्ने अभ्यास अब संस्थागत रूपमा अघि बढिरहेको बताइन्। समितिका संयोजकसमेत रहेकी डंगोलले यो क्षणलाई “गौरवपूर्ण ऐतिहासिक उपलब्धि” रहेको टिप्पणी गरिन्।
चोरी भएका कलाकृतिहरू फिर्ता ल्याउन सन् १९७० को युनेस्को महासन्धि प्रभावकारी बनेको उल्लेख गरिएको छ। सो व्यवस्थाले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरण रोकथाम गर्ने भएकाले नेपालका थुप्रै सम्पदा यही प्रक्रियामार्फत देश फर्काइँदै आएका छन्।
वसन्तपुर क्षेत्रको सांस्कृतिक पहिचानको केन्द्र मानिने कुमारी वहाल स्वयं राजा जयप्रकाश मल्लको शासनकाल (वि.सं. १८१४) मा निर्माण भएको महत्वपूर्ण धरोहर हो।