npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

खाडीको समस्याले निम्तिने तेल व्यवस्थापन कसरी थेग्न सक्छ निगमले?

Shukra Giri 10 hours ago

काठमाडौं। युक्रेन र रसियाबिचको युद्धका कारण तेलको मूल्य महंगो हुँदा नेपाल आयल निगमले ठूलो क्षति व्यहोरेको थियो।निगमको इतिहासमा पहिलोपटक इन्डियन आयल कर्पोरेशनबाट उधारोमा तेल खरिद गर्नुपरेको थियो। जसको दायित्व ५० अर्बसम्म पुगेको थियो। जुन बेला इन्धनको मूल्य प्रतिलिटर २०० रुपैयाँसम्म पुगेको थियो।

त्यति बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य परल गरेको थिएन। निगमले भारतबाट आउने नयाँ मूल्य अनुसार केही मार्जिन राखेर मूल्य तोक्ने गरिएको थियो। तर राजनीतिक रणनीतिको बाध्यताले निगमले मार्जिन राख्न सकेको थिएन।भारतबाट आएको महंगो तेललाई निगमले घाटा खाएर बिक्री गर्नुपरेको थियो। जसको दायित्व बढ्दै गएर ठूलो घाटामा परिणत भएको थियो।

लगत्तै पछि निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले एलपी ग्यासबाहेक अन्य सबै प्रडक्टमा स्वचालित मूल्य कायम गरेका थिए। त्यसको ब्याकलक पूरा गरेर सामान्य अवस्थामा फर्किन निगमलाई २ वर्षभन्दा बढी समय लागेको थियो।

शनिबार अमेरिका र इजरायलले इरानमा हमला गरेसँगै पुरानै अवस्था पुनरावृत्ति हुनसक्ने आलकन गर्न थालिएको छ। अहिले कच्चा तेलको मूल्यमा वृद्धि हुन थालेको छ। प्रति ब्यारेल १३ प्रतिशतसम्मले वृद्धि भएको छ। डब्लुटीआइ क्रुड आयलको मूल्य प्रति ब्यारल ७२.७० डलर पुगेको छ। ब्रेन्ट क्रुड आयलको पनि प्रति ब्यारल १३ प्रतिशत बढेको छ। न्याचुरल ग्यास ३ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थको मूल्य यसरी अझै उकालो लाग्ने विज्ञहरुको प्रक्षेपण छ। विज्ञहरुले क्रुड आयलको मूल्य प्रति ब्यारल १०० भन्दा माथि पुग्ने अनुमान गरेका छन्।

क्रुड आयालमा भारत खाडीसँग कति निर्भर छ?

खाडीबाट आउने तेलमा भारत सबैभन्दा धेरै निर्भर छ। अमेरिकी ऊर्जा सूचना प्रशासन केन्द्रका अनुसार इरान ओपेक राष्ट्रहरूमध्ये चौथो ठूलो कच्चा तेल उत्पादक देश हो। यद्यपि इरानको तेल उत्पादन दैनिक करिब ३० लाख ब्यारेल मात्र छ। यो विश्वव्यापी उत्पादनको ५ प्रतिशतभन्दा कम हो। तर यसको ‘स्ट्रेट अफ हर्मुज’ मा ठूलो नियन्त्रण र प्रभाव रहेको छ।

तेल उद्योगका विशेषज्ञ एन्डी लिपोका अनुसार विश्वको कूल तेल माग दैनिक करिब १० करोड ३० लाख ब्यारेल छ, जसमध्ये करिब २ करोड ब्यारेल कच्चा तेल र प्रशोधित ऊर्जा उत्पादनहरु यही स्ट्रेट अफ हर्मुज भएर जाने गर्छ।

भारतमा आउने ५० प्रतिशत कच्चा तेलको हिस्सा यही स्ट्रेट अफ हर्मुज भएर आउने गर्छ। साउदी अरेबिया, इराक, युएई, कुवेत र कतारबाट निर्यात हुने क्रुड आयल यो रुट हुँदै चीन, भारत, जापन र साउथ कोरिया जान्छ। तर भारतले यसको रुट परिवर्तन गरेर तेल आयात गर्ने योजना अगाडि सारिसकेको छ। जसले गर्दा यो रुटबाट आउने समयभन्दा धेरै दिन लाग्न सक्छ। यस्तै रसियाबाट पनि भारतले तेल आयात गरिरहेको छ। पछिल्लो समय अमेरिकाले भारतलाई रसियाबाट तेल आयात नगर्न दबाब दिएको थियो। त्यसपछि गल्फ देशहरुको तेल आयात गर्न जोड दिएको थियो।

यो वर्षको पहिलो महिनामा मात्रै गल्फ देशहरुबाट भारतले दैनिक २.६ मिलियन ब्यारेल आयात गरेको छ।

खाडीबाट कच्चा तेल आपूर्तिमा हुने कुनै पनि अवरोधलाई आपूर्तिको अन्य कुनै स्रोतले प्रतिस्थापन गर्न असम्भव रेहेको विज्ञहरुको भनाइ छ। किनकि यसले विश्वव्यापी तेल आपूर्तिको १८ देखि २० प्रतिशत हिस्सा ओगटेको छ।

यदि कुनै अवरोधका कारण मूल्य बढ्छ भने जताबाट कच्चा तेल लिन थाले पनि क्रुडको मूल्य सबै ठाउँमा प्रभाव पार्ने हुन्छ। यसले नेपालको तेलको मूल्यमा पनि प्रत्यक्ष रुपमा प्रभाव पार्नेछ। जुन कुरा युक्रेन र रसियाबिचको युद्धमा पनि देखिएको थियो। जसले नेपाललाई ठुलो संकटमा धकेलेको थियो।

स्टक कति समयसम्म पुग्छ?

हामी जस्तो देशको लागि स्टकमा धेरै पेट्रोलियम पदार्थ नुहुँदा धेरै समस्या हुने गर्छ। स्टोरेज क्षमता अनुसार प्राइस सुट गर्छ। किनभने स्टोरेज धेरै हुने त्यही अनुसार सस्तो मूल्य भएका बेलामा खरिद गरेर राख्न सकिन्छ। जसले महंगो मूल्यलाई केही हदसम्म थेग्न सक्छ।

रणनीतिक भण्डार भनेको संकटको समयमा राष्ट्रिय सुरक्षा र आपूर्ति निरन्तरता सुनिश्चित गर्न सरकारहरुद्वारा राखिएको कच्चा वा रिफाइनरी तेलको आपतकालीन भण्डार हो। भारतको हालको भण्डारले लगभग क्रुडको लागि ९-२५ दिन र रिफाइनरी तेलको लागि लगभग दुई महिनाको आयात आवश्यकताहरु पूरा गर्न सक्छ, जसले छोटो अवधिको अवरोधहरुको लागि महत्त्वपूर्ण भूमिका प्रदान गर्दछ।

तर नेपालमा त्यतिसम्मको क्षमता अहिले विस्तार भइसकेको छैन। अन्य देशहरु जस्तै भारतले अहिले क्रुड आयल ल्याउने गर्छ। जसले गर्दा उनीहरुलाई स्टकमा राख्न सहज हुन्छ। तर हाम्रो जस्तो देशमा रिफाइनरी गरिएको आयल मात्रै आउने गर्छ। त्यो पन भारतसँग मात्रै हाम्रो निर्भरता छ।

नेपालमा राजनीतिक नेतृत्वको निर्णय बिना तेलको मूल्य कायम गर्न गार्हो हुन्छ। नयाँ सरकार आउदा मूल्य बढाउन राजनीति रुपमा कदम चाल्ने परिस्थिति हुन्छ।

निगमका अनुसार अहिले पेट्रोलियम पदार्थको स्टक दुई हप्तासम्मलाई धान्ने अवस्थामा निगम छ। अहिले पेट्रोल र डिजेलको माग १३ दिन, मट्टीतेलको माग ४२ दिन र हवाई इन्धनको १० दिनसम्म धान्न सक्ने गरी भण्डारण क्षमता छ। निगमसँग १ लाख २ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता छ।

नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट अहिले सप्लाईमा कुनै पनि समस्या नरहेको बताउँछन्। इन्डियन आयल कर्पोरेशनले ३ महिनासम्मको लागि सप्लाई चेनमा समस्या नआउने प्रतिबद्धता जनाएको पनि उनले बताए।

The post खाडीको समस्याले निम्तिने तेल व्यवस्थापन कसरी थेग्न सक्छ निगमले? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category