भक्तपुरको भुम्डोलबाट हतियारसहित सेढाई पक्राउ
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोल क्षेत्रमा अवैध हतियारसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाइलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सेढाइको साथबाट इन्सास राइफल एक थान, एसएलआरमा प्रयोग हुने चार राउण्ड गोली, प्लास्टिक राउण्ड दुई थान, सटगनमा लाग्ने एक राउण्ड गोली, खुकुरी एक थान तथा दाप दुई थान, बन्चरो एक थान र पाँच वटा सिरिन्ज बरामद गरिएको छ।
बरामद गरिएका हतियारमध्ये राइफल र केही गोली जेनजी आन्दोलनका क्रममा लुटिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको र स्रोत तथा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।
पक्राउ परेका सेढाइलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। सुरक्षा निकायले निर्वाचनको सन्दर्भमा संवेदनशील समय भएकाले अवैध हतियार र आपराधिक गतिविधि नियन्त्रणमा विशेष निगरानी बढाइएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।