कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँ- विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ। सहमहामन्त्री डा.डिला संग्रौलाले केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हिमालप्रेसलाई जानकारी दिइन्। उनले भनिन्,‘केन्द्रीय कार्यसमिति बैठक बोलाएका छौं।’
बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्नेछ। गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको थियो।
उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाललाई चुनेको छ। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्। सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन्।
केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन भएका छन्।