npl.977 Nepal News Stream

Sutra News logo Sutra News

देउवा समूहलाई गगन समूहको जवाफ– ८८५ प्रतिनिधिले फिर्ता लिएको हस्ताक्षरले वैधानिकता पाउँदैन

सुत्र न्युज 4 hours ago

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सघन बनेर अघि बढेको छ । शेरबहादुर देउवा र गगन थापा समूहले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग धाइरहेका छन् ।

बिहीबार गगन समूह निर्वाचन आयोग पुगेको थियो । यसको भोलिपल्ट शुक्रबार बिहान देउवा समूह आयोग पुग्यो । देउवा समूह बाहिरिएपछि फेरि गगन समूह आयोग पुगेको छ ।

कांग्रेसका दुवै समूह एकअर्कालाई अवैध दाबी गर्दै आफूलाई वैधानिकता दिन माग गरेका छन् ।

शुक्रबार बिहान देउवा समूहलाई आधिकारिकता दिनुपर्ने मागसहित पुगेका पूर्णबहादुर खड्काले आयोगका पदाधिकारीसँग विशेष महाधिवेशनका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको भन्दै आधिकारिकतामाथि दाबी पेस गरेका थिए ।

देउवा समूहका कार्यवाहक सभापति खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरे ।

‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ,’ उनले भने ।

गत पुस २७ देखि चार दिन काठमाडौंमा चलेको दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापालाई चयन गर्दै नयाँ नेतृत्वलाई निर्वाचित गरेको हो ।

अहिले दुवै समूहले आधिकारिकता दाबी गरिरहँदा हस्ताक्षर फिर्ताको विषय आएपछि गगन समूहले महाधिवेशन सकिएपछि फिर्ता लिएको हस्ताक्षरले वैधानिकता नपाउने प्रतिक्रिया दिएको छ ।

गगन समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेर महाधिवेशनमा २ हजार ६५२ प्रतिनिधि उपस्थित भएको दाबी गर्दै सकिएपछि फिर्ता लिएको हस्ताक्षरले वैधानिकता नपाउने बताएका हुन् ।

‘नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एक पटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न मिल्दैन,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Read more news from Sutra News

Explore by Source or Category