RONB post
मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जान्न वेबसाइट सञ्चालन
काठमाडौं । खाडीका देशमा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न परराष्ट्र मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मध्यपूर्वमा रहेका नेपालीहरू र विमानस्थलमा पर्खिरहेका, भिसाको म्याद सकिएका वा रद्द गरिएका र टिकट बुकिङ गरेपछि समस्या भोगिरहेका नेपालीहरूको बारेमा जानकारी सङ्कलन गर्न पोर्टल सञ्चालनमा ल्याएको हो ।
यही वेबसाइटमार्फत आएका सूचनाको आधारमा त्यहाँ रहेका नेपालीको आपत्कालीन उद्धारको योजना बनाइने मन्त्रालयले जनाएको छ । खाडीका देशमा रहेका नेपालीहरूले आफ्नो अवस्थाबारेमा अब यो वेबसाइटमा गएर विवरणहरू उपलब्ध गराउन सक्नेछन् ।
इरानले यूएई, साउदी अरेबिया, इजरायल, कतार, कुवेत, बहराइन, ओमान, जोर्डनलगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरिरहेको छ । जसको त्रासमा त्यहाँ कार्यरत १७ लाखभन्दा बढी नेपालीहरू परेका छन् । अहिलेसम्म इरानको आक्रमणमा परी यूएईमा कार्यरत एक नेपालीको ज्यान गइसकेको छ ।
The post मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जान्न वेबसाइट सञ्चालन appeared first on RONB post.