मध्यपूर्वका नेपालीको सुरक्षाका लागि आपतकालीन उद्धार टोली गठन
काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहुसरोकारवाला ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरिएको जानकारी दिए।
सरोकारवाला निकायहरूबीच अन्तरनिकाय समन्वय गर्ने, उद्धारका लागि उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिने र अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्ने उद्देश्यले यो टोली गठन भएको उनले बताए।
मध्यपूर्वको पछिल्लो घटनाक्रमका सन्दर्भमा नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिइएको र सम्बन्धित देशका दूतावासहरूबाट सुरक्षाको प्रत्याभूति भइरहेको जानकारी प्राप्त भएको उनले उल्लेख गरे।
विभिन्न विमानस्थलको ट्रान्जिटमा करिब एक हजारको संख्यामा नेपाली नागरिक रहेको हुन सक्ने अनुमान गरिएको छ। उनीहरूको व्यवस्थापन सम्बन्धित एयरलाइन्सहरूले नै गरिरहेको खड्काले बताए।
ट्रान्जिटमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने वा अन्यत्र पठाउने विषयमा सम्बन्धित एयरलाइन्सले नै जिम्मेवारी लिनुपर्ने उनले स्पष्ट पारे।