रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास, मेटाले गरिदियो ‘लक’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच ‘ह्याक’को प्रयास भएको छ।
लामिछानेको फेसबुकमा अनाधिकृत पहुँचको बारम्बार प्रयास भएपछि उनको एकाउन्ट तथा पेज मेटाले ‘लक’ गरिदिएको छ।
लामिछानेका स्वकिय सचिव अविनाश आचार्यले अनुसार बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन पटक पटक प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाले लक गरेको जानकारी दिएको बताएका छन्।
प्राविधिक टोलीले पेजलाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको लामिछानेको सचिवालयले जनाएको छ।
पेज लक भएको अवस्थामा त्यहाँबाट कुनै पनि शंकास्पद पोस्ट,सन्देश वा लिंकहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न र भ्रममा नपर्न पनि सचिवालयले आग्रह गरेको छ ।
लामिछानेले सोमबार साँझ निर्वाचन लक्षित भिडियो सामाग्री पोस्ट गरेका थिए। लामिछानेको सचिवालयले भिडियो पोस्ट भएपछि उनको पेजमा अनाधिकृत पहुँचको बारम्बार प्रयास भएको जनाएको छ।