नेपालमा तय विश्वकप लिग-टु शृंखला अनिश्चित
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण नेपालमा तय भएको क्रिकेट विश्वकप लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखला अनिश्चित बनेको छ।
१० मार्चदेखि २० मार्चसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानबीच शृंखला हुने तय छ। १० मार्चमा घरेलु टोली नेपालले ओमानसँग खेल्ने छ। तर, अमेरिका र इजरायलले इरानविरुद्ध गरिरहेको संयुक्त सैन्य कारबाहीले अहिले मध्यपूर्वबाट हुने हवाई सेवा अवरुद्ध छन्।
त्यसैले आगामी ५० ओभरको विश्वकपका लागि छनोट प्रक्रियाको हिस्सा रहेको लिग-टुका शृंखला पनि अन्योलमा रहेको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामा बताउँछन्। “अहिले मध्यपूर्वको स्थिति राम्रो छैन। हवाई सेवा पनि स्थगन भएको हुँदा हामीले आयोजना गर्ने शृंखला हुन्छ या हुँदैन भनेर अहिले नै भन्न सक्ने अवस्था छैन,” उनले नेपालन्युजसँग भने।
इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)का अनुसार लिग-टु खेल्न टोली शुक्रबार काठमाडौँ प्रस्थान गर्ने तालिका छ। तर, खाडी क्षेत्रमा इरानद्वारा गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि यूएईबाट हुने उडान अवरुद्ध छ। इमिरेट्स एयरलाइन्सले सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान कम्तीमा मंगलबारसम्म स्थगन गरिएको जनाएको थियो।
त्यसैले यूएईले नेपाल भ्रमण गर्ने कि नगर्ने निर्णय हुन बाँकी रहेको बोर्डले जनाएको छ। ईसीबीले टोलीलाई नेपाल पठाउने या नपठाउने भन्नेबारे आयोजकसँग समन्वय भइरहेको बताएको छ। यसअघि पनि यूएई टोलीले विभिन्न कारणले लिग-टुका खेलहरू स्थगित गर्नुपरेको थियो।
ओमान यस युद्धमा तटस्थ रहे पनि हवाई सेवा अवरुद्ध रहेकाले उसको यात्रा पनि अनिश्चित छ। सन् २०२० मा मस्कटमा रहँदा ओमानका शासक सुल्तान काबुस बिन सइदको निधन भएपछि खेलतालिका प्रभावित भएको थियो।
उक्त चारवर्षे चक्रमा यूएईमा आएको आँधीबेहरी तथा नामिबियामा रहँदा कोरोनाको नयाँ भेरियन्ट फेला परेपछि पनि खेलहरू सारिएका थिए।

नेपाली टोली। तस्बिर : क्यान
क्यानका प्रवक्ता लामा यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रतियोगिता भएका कारण आयोजक राष्ट्रले निर्णय लिन नमिल्ने बताउँछन्। “यो हाम्रो शृंखला भएको भए हामीले विपक्षी टोलीलाई गाह्रो हुन्छ भनेर निर्णय लिन मिल्थ्यो। तर, आईसीसीकै प्रतियोगिता भएको कारण उतैबाट निर्णय आउँछ,” उनी भन्छन्।
आठ टोली सम्मिलित लिग-टु तालिकामा यूएई १० अंकसहित पुछारमा छ। समान २० खेल खेलेको नेपाल दुई अंक बढी जोड्दै तालिकाको सातौँ स्थानमा रहँदा ओमान चौथो स्थानमा छ। ओमानको भने २४ अंक छ।
त्रिवि क्रिकेट मैदानमा हरेक टोलीले समान चार खेल खेल्नेछन्। शृंखलाअन्तर्गत नेपालले १० मार्चमा ओमानसँग खेल्नेछ। १२ मार्चमा ओमान र यूएई भिड्नेछन्। १४ मार्चमा नेपाल र यूएई तथा १६ मार्चमा नेपाल र ओमान खेल्नेछन्।
१८ मार्चमा ओमान र यूएई खेल्दा त्यसको दुई दिनपछि नेपाल र यूएई खेल्दै शृंखला टुंग्याउनेछन्। “शृंखला सुरु हुन एक हप्ता मात्र बाँकी छ। हाम्रो टिमले तयारी गरिरहेको छ। समय कम भएको हुँदा आईसीसीले भोलिसम्म तीन वटै टोलीलाई कन्फरेन्समा राखेर कुरा गर्छ होला। त्यसमा जे निर्णय हुन्छ, त्यहीअनुसार शृंखला हुने या नहुने जानकारी दिन्छौँ,” लामा भन्छन्।
इङ्ल्यान्डको भ्रमण रद्द
इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले यसअघि नै यूएईमा जारी इङ्ल्यान्ड लायन्सको भ्रमण रद्द गरिसकेको छ। बोर्डले खेलाडी तथा स्टाफलाई सकेसम्म छिटो बेलायत फर्काउने प्रक्रिया सुरु गरेको जनाएको छ। साथै, इङ्ल्यान्ड महिला टोलीलाई तय गरिएको प्रशिक्षण क्याम्पका लागि त्यही क्षेत्रमा नपठाउने निर्णय पनि गरिएको छ।
इङ्ल्यान्ड लायन्सले पाकिस्तान शाहिन्सविरुद्ध सेतो बल (ह्वाइट बल) शृंखला खेलिरहेको थियो। पाँच एकदिवसीयमध्ये दोस्रो खेल सप्ताहान्तमा नै रद्द भएको थियो भने बाँकी तीन खेल पनि स्थगन गरिएका छन्।
सन् २०२५ को एकदिवसीय विश्वकपबाट अक्टोबरमा बाहिरिएपछि इङ्ल्यान्ड महिला टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन। टोली जुन-जुलाईमा बेलायतमा आयोजना हुने टी-२० विश्वकपको तयारीस्वरूप अबुधाबीमा प्रशिक्षण शिविरका लागि प्रस्थान गर्ने तयारीमा थियो। तर, ईसीबीले अहिले वैकल्पिक उपायहरू खोजिरहेको जनाएको छ।
ईसीबीले भनेको छ, “इङ्ल्यान्ड पुरुष लायन्स भ्रमणका बाँकी खेलहरू रद्द भएका छन् र सबैलाई यथाशीघ्र स्वदेश फर्काउने काम भइरहेको छ।” खाडी क्षेत्रमा बढ्दो अस्थिरताका कारण अबुधाबीमा महिला टोलीको प्रशिक्षण क्याम्प सम्भव नभएको ईसीबीले जनाएको छ।
पश्चिम एसियाको हवाई क्षेत्र बन्द भएपछि हजारौँ उडान प्रभावित छन्। जिम्बाबेको पुरुष टोली टी-२० विश्वकपमा सहभागिता जनाएपछि भारतबाट स्वदेश फर्किन ढिलाइ भइरहेको छ। वेस्ट इन्डिजले पनि आफ्नो अन्तिम खेलपछि खेलाडीहरू फर्कन नसकेको जनाएको छ। आईसीसीले अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। यद्यपि, विश्वकप समापनमा भने प्रत्यक्ष असर नपर्ने अपेक्षा गरिएको छ।