मोरङ प्रशासन कार्यालय जलाएको आरोपमा पूर्वसांसदका स्वकीय सचिव पक्राउ
काठमाडौँ। मोरङ जिल्ला प्रशासन कार्यालय जलाएको आरोपमा पूर्वमाओवादी कार्यकर्तासहित आठजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा समीर क्षेत्री, प्रतीक तामाङ, राजीव यादव, महेश नेपाल, आभास पौडेल, ताजिम अन्सारी, अरुण साह सोनार र पंकज कामत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार राति उनीहरूलाई विराटनगरबाटै पक्राउ गरेको हो। जेन-जी आन्दोलनका क्रममा २४ भदौमा प्रशासन र प्रमुख जिल्ला अधिकारीको निवास जलाइएको थियो। आगजनीपछि सीसीटीभी फुटेजलगायत संकलनपछि प्रहरीले व्यक्ति पहिचान गरेर उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कवित कटवालले बताए।
पक्राउ परेकामध्ये अन्सारी पूर्वमाओवादी तथा हाल नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन्। विराटनगर महानगरपालिका-१० का ३७ वर्षीय अन्सारी पूर्वसांसद तथा नेता अमनलाल मोदीका स्वकीय सचिवसमेत थिए।
पक्राउ परेकालाई हिरासतमा राखेर प्रहरीले आगजनी, तोडफोड तथा आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक कटवालले बताए।