सुरु भयो ‘रोल नं. १’ को छायांकन
काठमाडौँ। चलचित्र ‘रोल नं. १’ को छायांकन सुरु भएको छ। दुई साताको ‘वर्कसप’पछि निर्माण टिम छायांकनमा निस्किएको थियो।
चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ। करिब डेढ महिनाको सेड्युल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए।
चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी छन्। चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दै छन्। कथा पनि उनी स्वयंकै छ।
चलचित्र ‘रोल नं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए।

सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान् हो अरु मूर्ख हुन् भन्ने कथा यो उठाउनेछ।
यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो। उसको अगाडि नीलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभर थिए। अगाडि कालोपाटी थियो। नजिकै एक शिक्षिका थिइन्।
महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं कार्यकारी निर्माता छन्। निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै छ।