एसएमएस पठाउँदा व्यवसायी पक्राउ, ‘गेटवे’ प्रयोग गर्न दिने टेलिकम चोखै, को हुन् निर्देश ?
काठमाडौं। ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातन महान् अधिराज्य नेपाल बनाउनको लागि पुस ३० गते दिउँसो १२ बजे बालुवाटार’ भन्दै केही दिनदेखि धेरैको मोबाइल सेटमा एउटा म्यासेज आयो।
म्यासेजमा निर्देश सेढाई देखिन्थ्यो। त्यो म्यासेज आएको केही दिनमा नै प्रहरीले निर्देशलाई पक्राउ गर्यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार चितवन घर भएका निर्देशलाई एकाएक पक्राउ गरिएको छ।
निर्देशले पठाएको म्यासेजमा लेखिए झैँ राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा), हिन्दु राज्य बचाउन अभियान गरिरहेका दुर्गा प्रसाईं लगायत समुहले यस्तै माग राख्दै प्रदर्शन तथा विरोधका कार्यक्रमहरू पठाएका थिए। तर, उनीहरु पक्राउ परेनन् अहिले भने निर्देश भने एकाएक समातिए। के बल्क एसएमएस पठाउनु कानुन विपरीत हो त ? प्रजातान्त्रिक मुलुकमा म्यासेज पठाएर आन्दोलनमा आउन सूचना दिने व्यक्तिलाई पक्राउ गर्न मिल्छ ?
‘माग राखेको विषयमा नै पक्राउ गर्न त नमिल्ला तर गोपनीयताको विषय जोडिन्छ। कसैको गोपनीयताको जानकारी राख्न पाइँदैन। ऊसँग मेरो नम्बर कसरी आयो भन्ने विषयमा अनुसन्धान भएको हुनुपर्छ,’वरिष्ठ अधिवक्ता बाबुराम अर्यालले भने।
नेपाल टेलिकमले नै बल्कमा म्यासेज पठाउनको लागि विभिन्न कम्पनीहरूसँग सम्झौता गरेको हुन्छ। त्यही सम्झौता अनुसार कम्पनीले वा उनीहरूले पनि अरुलाई बल्कमा म्यासेज गर्न गरेका हुन्छ। केही दिनअघि एटी अलर्ट कम्पनीबाट आएको त्यही सम्झौता अनुसारको नै हो। नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार ४४ वटा कम्पनीले ठुलो सङ्ख्यामा म्यासेज गर्न सम्झौता गरेको बताउँछन्।
तर उनीहरूले कसलाई के भनेर म्यासेज गर्छन् त्यो पठाउनु भन्दा अगाडि थाहा नहुने भन्दै पन्छिन खोजे। आफ्नै गेटवे भएर जाने म्यासेजमा टेलिकम जानकार भएको देखिँदैन।
‘हामीलाई कन्टेन्टको जानकारी हुँदैन। हामीले पठाइसकेपछि मात्र थाहा पाउने हो। कति सङ्ख्यामा पठाएको भन्ने पनि समाचार पढेर थाहा भएको छ,’ प्रवक्ता मानन्धरले भने।
तर, कम्पनीहरू सम्झौता गर्दा कस्ता म्यासेजहरू पठाउन नहुने, कानुन विपरीतका विषयमा सम्झौतामा उल्लेख भएको दाबी गरेका छन्। त्यो आधारमा नेपाल टेलिकमसँग व्यवसायिक सम्झौता गरेको कम्पनी जवाफदेही हुनुपर्ने हो। तर, सस्तो लोकप्रियताका लागि अहिलेको सरकार र प्रहरीले आन्दोलनको आब्हान गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
‘उपभोक्ताको वैयक्तिक गोपनियता एक्सपोज हुनु गम्भीर विषय हो। यो विषयमा टेलिकमलाई जिम्मेवार बनाउनुपर्ने हो,’ टेलिकमका एक पूर्व कर्मचारीले भने, ‘यो विषयमा छानविन समिति बनाउन आवश्यक थियो। तर, संचारमन्त्रालयले टेलिकमले निकालेको झारा टार्ने विज्ञप्तिमै चित्त बुझाएको छ।’
स्रोतका अनुसार यो गम्भीर विषयलाई संचारमन्त्री जगदीश खरेल र संचार सचिव एवं टेलिकमकी अध्यक्ष राधिका अर्यालले सामान्य रुपमा हेरेका छन्। ‘यो गम्भीर विषय हो। कुनै व्यक्तिले सामाजिक सद्भाव विगार्नेगरी सन्देश पठाएर देशमा ठूलो दुर्घटना भए जिम्मेवार को हुन्छ ?.’ ती कर्मचारीले भने, ‘यसअघि जेनजीको आन्दोलनमा त्यस्तै प्रकृतिको सन्देश टेलिकमबाटै गएको देखिँदा पनि नजरअन्दाज गरियो। त्यो विषयलाई जेनजी आन्दोलन भनेर माफ गर्दा त्यस्तै हर्कत दोहोरियो।’ स्रोतका अनुसार निर्देशले पठाएको म्यासेज ५० लाख ग्राहकसमक्ष पुगेको थियो।
प्रहरीले भने बल्कमा म्यासेज पठाउन कानुन विपरित नभएको तर उनले निषेधित गरेको क्षेत्रमा प्रदर्शन गर्न आह्वान गरेको र संविधानले रोकेको विषयमा प्रदर्शन गर्न उक्साएको आधारमा पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए।
‘उहाँको माग संविधान विपरीत रहेको छ। त्यस्तै निषेधित क्षेत्रमा प्रदर्शन गर्न बोलाइएको छ,’एसपी आचार्यले भने। प्रहरीले सेढाईं विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा नियन्त्रणमा लिएको प्रहरीको दाबी रहेको छ।
को हुन् सेढाईं ?
सेढाईं चितवन भरतपुर गोन्द्राङका स्थायी वासिन्दा हुन्। उनी चितवनमा अटोमोबाइल व्यवसायमा छन्। चितवनमा फोर्ड र टाटा गाडीको बिक्रेता रहेका उनी राजनीतिक पृष्ठभूमिका भने होइनन्।
उनी राजनीतिक रुपमा सक्रिय पनि देखिएका थिएनन्। तर, पछिल्लो समयमा नयाँ दलमा युवापुस्ताको प्रवेशपछि भने एकाएक राजनीतिमा तानिएको देखिन्छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेर प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेपछि उनमा राजनीतिक मोह पलाएको स्रोतले बतायो। ‘राजनीतिक विषयमा धेरै चासो राखेको थाहा थिएन। व्यवसायिक रुपमा पनि राम्रै गरिरहेका थिए,’ सेढाईंलाई नजिकबाट चिन्ने एक व्यवसायीले भने, ‘जेनजी आन्दोलनपछि देखिएको राजनीतिक घटनाक्रमपछि भने उनमा केही जागरण आएको हुनसक्छ।’
उनको आमा शर्मिला सेढाईं चितवन पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष हुन्। शर्मिलाले गोन्द्राङमा गौरीशंकर पेट्रोल पम्प र कुरिनटारमा बाबा पेट्रोल पम्प संचालन गरेकी छिन्। शर्मिलाले छोरा पछिल्लो समय राजनीतिमा आकर्षित भएको बताईन्। ‘राजनीति गर्छु भनेर केही सूचना पठाउँछु भनेको थियो। त्यही आधारमा उसलाई पक्राउ गरेको भनिएको छ,’ उनले बिजमाण्डूसँग भनिन्।
The post एसएमएस पठाउँदा व्यवसायी पक्राउ, ‘गेटवे’ प्रयोग गर्न दिने टेलिकम चोखै, को हुन् निर्देश ? appeared first on BIZMANDU.