npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

’सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ : उपप्रमुख डंगाल

पालिका ब्यूरो 1 week ago

काठमाडौँ—काठमाडौँ महानगरपालिकाले बसोबास गर्ने सिपसम्पन्न महिलाहरूलाई उद्यमी बनाउन नीति तथा कार्यक्रम अगाडि बढाएको छ । महानगरकी उपप्रमुख सुनिता डंगालले बिहीबार सामाजिक विकास विभागको आयोजना गरेको महिला समूह, समिति र सशक्तिकरण अन्तरक्रियामा यसबारे जानकारी दिईन् ।

उपप्रमुख डंगालले भनिन्, “घरमै बसे पनि हातमा केही न केही सिप हुन सक्छ—कसैलाई मिठो खाना बनाउन आउँछ, कसैलाई कपडा सिलाउन आउँछ, कसैलाई सजावटका सामान बनाउन आउँछ । यसलाई आयमा परिणत गर्न सकिन्छ । मैले के जानेको छु भनेर नबस्नुस् । महिला समूहलाई उद्यमशील बनाउने हाम्रो लक्ष्य यही हो।”

सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाका अनुसार, महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको छ ।

महानगरपालिकामा २०७५ सालदेखि महिला विकास समूह र समिति गठन सुरु भएको थियो। २०७८ सालमा सबै वडामा समूह गठन भइसकेका छन् । हाल महानगरभित्र ३५ महिला विकास समिति छन्, जसअन्तर्गत प्रत्येकमा ५÷५ जना सदस्य भएका ६ सय समूह सञ्चालनमा छन्। समूहका सदस्यले महिनाको निश्चित रकम जम्मा गर्ने अभ्यास गर्छन्, रकम सामान्यतया १ सयदेखि ५ सय रुपैयाँसम्मको हुन्छ। यसरी जम्मा भएको पैसा दुई वर्षमा व्याजसहित फिर्ता हुन्छ ।

महानगरभित्रका यी समूहमा हाल ३ हजार १ जना सदस्य छन्। हरेक महिना बैठक बस्ने, सामाजिक क्रियाकलाप र सिपमूलक तालिममार्फत आय आर्जन गर्ने कार्य भइरहेकाले महिलाहरू घर बाहिर आउन, सक्रिय हुन र आत्मनिर्भर बन्न सक्षम भएका छन् ।

कार्यक्रममा सहभागी महिलाहरूले महानगरपालिकाको सहयोगमा व्यवसाय दर्ता गरी उद्यम सञ्चालन गर्न सक्षम भएको अनुभव सुनाए। उहाँहरूले बताउनुभयो, “भाँडा माझ्ने साबुन, सरफ, हर्पिक, फिनेल जस्ता सामान हामी आफैले उत्पादन गर्छौं। अन्य समितिसँग अनुभव आदान–प्रदान गर्दा उत्साह थप भएको छ ।”

महानगरपालिकाको यो पहलले महिला सशक्तिकरण र आर्थिक स्वतन्त्रताका लागि ठोस वातावरण निर्माण गर्दैछ ।

Read more news from PalikaNews

Explore by Source or Category