नेपाल एयरलाइन्सका विमान परिचालक सन्देश तिवारी निलम्बित, सुन तस्करीमा संलग्न रहेको आरोप !
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का विमान परिचालक सन्देश तिवारी निलम्बनमा परेका छन् । उडानका क्रममा सुन बोकेको देखिएपछि नेपाल एयरलाइन्सले उनलाई निलम्बन गरेको हो ।
उनले २७ नोभेम्बरमा ‘आरए २४०’ दोहा-काठमाडौँ उडानका क्रममा एक सय ग्राम (साढे ८ तोला) सुन बोकेको देखिएको नेपाल एयरलाइन्सले जनाएको छ ।
भन्सार पदाधिकारीले गरेको सोधपुछ र खानतलासीका क्रममा उनको साथमा एक सय ग्राम सुन बोकेको फेला परेको थियो । यतिसम्म कि दोहास्थित स्टेसन म्यानेजर समेतको रहोवरमा समस्या समाधान गर्न उडान आधा घण्टाबढी समय ढिला भएको खुलेको छ ।
निलम्बनमा परेका तिवारीलाई छानविन नसकिँदासम्म वा बढीमा तीन महिनासम्म निलम्बन गर्न सकिने कानूनी व्यवस्था अनुसार निलम्बन गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।