npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार

इन्द्र कमल रोक्का 1 hour ago

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो।

यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नेपाल पर्यटन बोर्डले गर्दै आएको निरन्तर प्रयासलाई मान्यता दिएको बोर्डले जनाएको छ।

पूर्वी हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसन (इएचटीटीओए) द्वारा आयोजित मार्टमा नेपाल पर्यटन बोर्डका साथै नेपालका ट्राभल ट्रेड कम्पनीहरू र कोशी तथा मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बंगाल ट्राभल मार्ट पूर्वी भारतकै महत्वपूर्ण पर्यटन व्यापार मेला मानिन्छ, जहाँ भारत, नेपाल, भुटान र बंगलादेशका पर्यटन सरोकारवाला, खरीददार, विक्रेता तथा मिडियाबीच अन्तरक्रिया हुने गर्दछ।

तीनदिने मार्ट अवधिमा नेपालका प्रदर्शकहरूले पश्चिम बंगालका यात्रु लक्षित पर्यटन प्याकेज, सेवा तथा गतिविधिहरू प्रस्तुत गरेका थिए। यसले भारत र भुटानका खरीददारहरूसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गरेको एनटीबीले जनाएको छ।

मार्ट अवधिभर एनटीबी स्टलमा रहेका कर्मचारीहरूले आगन्तुकहरूलाई विशेषगरी कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादनहरूबारे जानकारी दिएका थिए। यात्रु सूचना सामग्री, नक्सा, पोस्टर तथा स्मृति चिन्हसमेत वितरण गरिएको थियो।

नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्ग विक्रम शाह र सहायक कर्मचारी सुरेन्द्र सिंह लामाले गरेका थिए।

मार्ट सुरु हुनुअघि जनवरी ७ मा वरिष्ठ निर्देशक लामिछानेले सिलिगुडी पत्रकार क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए।

निर्देशक लामिछानेले नेपालका पर्यटन उत्पादनबारे प्रकाश पार्दै कोशी प्रदेशमा चलिरहेको ‘कोशी भ्रमण वर्ष’ र २०८३ मा आयोजना हुने ‘मधेश भ्रमण वर्ष’ को सन्दर्भ उल्लेख गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए।

त्यस्तै, भारतीय पर्यटक र मिडियालाई लक्षित गर्दै ‘नेपाल रात्रि सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको थियो। कार्यक्रममा वरिष्ठ प्रबन्धक शाहले पश्चिम बंगाल, कोशी र मधेश प्रदेशको भौगोलिक तथा सांस्कृतिक सामीप्यलाई उजागर गर्दै नेपालका प्रमुख पर्यटन आकर्षण र गतिविधिबारे प्रस्तुति दिएका थिए।

Read more news from Kendrabindu

Explore by Source or Category