KHASOKHAS
इरानमाथिको अमेरिकी हमलाबाट चिनियाँ सेनाले सिकेका “पाँच पाठ”
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि चिनियाँ सेनाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ। चिनियाँ सेनाले अमेरिकी र इजरायली हमलाबाट विश्वले “पाँच पाठ” सिक्नुपर्ने बताएको छ।
सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टमार्फत चिनियाँ सेनाले वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै पाँच महत्त्वपूर्ण निष्कर्ष निकालेको छ। यसअनुसार, कुनै पनि राष्ट्रका लागि सबैभन्दा घातक खतरा बाह्य शक्ति नभई आन्तरिक शत्रु हुन्। त्यस्तै, व्यावहारिक तयारी बिनाको शान्तिप्रतिको अन्धविश्वासलाई सेनाले सबैभन्दा महँगो भूलका रूपमा चित्रण गरेको छ।
विश्व राजनीतिको कठोर यथार्थ भनेकै शक्तिशाली सैन्य बलको तर्क (शक्ति) हो भन्ने ठहर गर्दै चिनियाँ सेनाले युद्धमा विजयको भ्रममा पर्नुलाई सबैभन्दा निर्दयी विरोधाभास भनेको छ। अन्त्यमा, कुनै पनि संकटको घडीमा कसैको मुख ताक्नुभन्दा आत्मनिर्भरता नै अन्तिम भरोसा हुने सन्देश प्रवाह गरिएको छ।
चिनियाँ सेनाको आधिकारिक खाताले पछिल्लो समय अमेरिकी कारबाहीको आलोचना गर्दै विभिन्न कार्टुन र भिडियोहरू सार्वजनिक गर्दै आएको छ। “पाँच पाठ” सम्बन्धी पोस्टपछि सार्वजनिक गरिएको अर्को सामग्रीमा एक सैनिकले हातमा खुकुरी र जन्जिर बोकेको तथा भुइँमा संयुक्त राष्ट्रसंघको फुटेको चिह्न देखाइएको थियो। पृष्ठभूमिमा बालबालिकाको मृत्युको दृश्य रहेको उक्त सामग्रीमा “शान्तिको विनाशकर्ता” भन्ने क्याप्सन राखिएको थियो।
यसैबीच, इरानमा युद्ध सुरु भएयता १,००० भन्दा बढी सर्वसाधारणको ज्यान गएको मानवअधिकार समूहहरूले जनाएका छन्। अमेरिकास्थित एक मानवअधिकार समूहका अनुसार कम्तीमा १,०९७ जना सर्वसाधारण मारिएका छन्, जसमा १८१ जना बालबालिका छन्। त्यस्तै, ५,४०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्, जसमा १०० जना बालबालिका रहेका छन्।
समूहले सार्वजनिक गरेको यो तथ्यांक प्रारम्भिक भएको र थप सयौँ मृत्युको विवरण प्रमाणीकरण भइरहेको जनाएको छ।
गत शनिबार अमेरिका र इजरायलको संयुक्त सैन्य हमलामा इरानी सर्वोच्च नेता खामेनीसहित ४० भन्दा बढी उच्चपदस्थ अधिकारीहरूको ज्यान गएपछि इरानले प्रत्याक्रमण गरिरहेको छ। इरानले हाल मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमाथि लगातार हमला गरिरहेको छ।