Sutra News
कारबाहीपछि गगनको शालीन र संयम भाषण ‘तपाईंहरूले बोल्दा कसैलाई पनि नराम्रो नभन्नू’
काठमाडौं । कांग्रेसले पाँच वर्षका लागि अनुशासनको कारबाही गरेको केही घण्टामै नेपाली कांग्रेसका नेता गगन थापा भृकुटीमण्डप उत्रिए र त्यो सम्बोधन शान्त भाषामा भए पनि राजनीतिक रूपमा विस्फोटक रह्यो। चर्को नाराबाजीबीच मञ्चमा उभिएका थापाले कार्यकर्तालाई संयमित रहन आग्रह गरे।
‘तपाईंहरूले बोल्दा र लेख्दा कसैलाई पनि नराम्रो नलेख्नू,’ भृकुटीमण्डपबाट आफ्ना समर्थकलाई गगनले भने।
उनले आफूहरूको माग व्यक्ति होइन, परिवर्तनसहित चुनावमा जानु मात्र रहेको बताए। ‘हामी चुनावमा जाँदा हाम्रो उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जाऔँ भनेकै हौँ। देश र जनताका लागि भन्नुपर्ने बाध्यता हो,’ उनले भने।
भृकुटीमण्डपको हलतर्फ इङ्गित गर्दै थापाले २४८८ महाधिवेशन प्रतिनिधि उपस्थित रहेको दाबी गर्दै उनले थपे, ‘देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ। हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा छौँ।’
उनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको भन्दै उनले भने, ‘यो कुरा सिंगो देश र नागरिकले सुनिरहेका छन्- यही हो नेपाली कांग्रेस।’
सानेपाबाट गरिएको कारबाहीबारे कुनै प्रतिक्रिया नदिने घोषणा गर्दै थापाले आफू निर्वाचन आयोग, ऐन र कानुनप्रति पूर्ण विश्वस्त रहेको बताए।