npl.977 Nepal News Stream

Himal Press logo Himal Press

काठमाडौँमा भीआरबाटै उडान प्रशिक्षण

Keshav Rana Chhetri 9 hours ago

काठमाडौ- भर्चुअल रियालिटी (भीआर) उडान प्रशिक्षण प्रदायक लफ्ट डाइनामिक्सले नेपालको चुनौतीपूर्ण हवाई वातावरणमा सुरक्षा सुदृढ गर्न नयाँ हेलिकप्टर सुरक्षा प्रशिक्षण गर्ने भएको छ।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी र एयरबस हेलिकप्टर्ससँगको साझेदारीमा सुरु गरिएको यसले नेपालमा हेलिकप्टर दुर्घटना न्यूनीकरण गर्ने र पाइलटहरूको पूर्वतयारीलाई मजबुत बनाउने लक्ष्य राखेको छ।

नेपाल सरकारको शून्य हताहतीको लक्ष्यलाई यस कार्यक्रमले प्रत्यक्ष सहयोग पुर्‍याउने विश्वास गरिएको छ। नेपालको हवाई क्षेत्र उच्च हिमाली भूभाग र अनिश्चित मौसमका कारण निकै चुनौतीपूर्ण मानिन्छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०२५ को सुरक्षा प्रतिवेदनले यस्तो जटिल परिस्थितिमा उडान भर्न पाइलटहरूमा उच्च स्तरको दक्षता आवश्यक रहेको औंल्याएको थियो। विशेष गरी विकट क्षेत्रमा यातायात, उद्धार र पर्यटनका लागि मेरुदण्ड मानिने हेलिकप्टर सेवालाई थप भरपर्दो बनाउन यो तालिम केन्द्रित रहने आयोजकले लफ्ट डायनामिक्सले जनाएको छ।

काठमाडौँमा सञ्चालन हुने एक महिना लामो यस सुरक्षा कार्यक्रममा लफ्ट डाइनामिक्सको ‘एच १२५’ उडान सिमुलेटर प्रयोग गरिनेछ। यसका साथै एयरबस हेलिकप्टर्सले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार विकास गरेका प्रशिक्षण पाठ्यक्रमहरू पनि समावेश गरिएका छन्।

यस पहलअन्तर्गत नेपालका सबै हेलिकप्टर पाइलटहरूले अनिवार्यरूपमा चार घण्टाको सिमुलेटर आधारित तालिम पूरा गर्नुपर्नेछ, जसमा विशेष गरी पहाडी उडान र एच१२५ हेलिकप्टरको आपतकालीन अवस्थाको व्यवस्थापनमा जोड दिइने बताइएको छ।

विश्वविख्यात प्रशिक्षकहरू लोरेन्ज नुफर र निक मेहेउले पहाडी उडानको प्रशिक्षण दिनेछन् भने एयरबस इन्टरनेशनल सर्भिसका क्लाउस क्राउस र एयरबस हेलिकप्टर्सका प्रशिक्षण सञ्चालन प्रमुख यान गुइरिनले आपतकालीन अवस्थाको तालिमको नेतृत्व गर्ने लफ्ट डाइनामिक्सले जनाएको छ।

एयरबस हेलिकप्टर्सका उड्डयन सुरक्षा व्यवस्थापन प्रमुख आर्नड भोन फाबेकका अनुसार उन्नत विमान मात्र पर्याप्त नभई, कठिन परिस्थिति सामना गर्न सक्ने दक्ष पाइलट तयार गर्नु नै उद्योगको मुख्य प्राथमिकता हो।

लफ्ट डाइनामिक्सका संस्थापक तथा सीटीओ फाबी रिसनले हिमालय जस्तो क्षेत्रमा परम्परागत फुल फ्लाइट सिमुलेट स्थापना गर्न सम्भव नहुने भएकाले पोर्टेबल र प्रभावकारी भीआर प्रविधि ल्याइएको बताए।

Read more news from Himal Press

Explore by Source or Category