खाडी युद्धले पेट्रोलियम मात्र होइन खाने तेलको मूल्य पनि उकालो, रोकियो अर्डर, भएन सिपमेन्ट
विराटनगर। अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा गरेको आक्रमणले पेट्रोलियम पदार्थसँगै खाने तेलको मूल्य पनि बढ्न थालेको छ।
युद्ध सुरु हुनुअघि टनको १ हजार २२० डलर रहेको भटमास कच्चा तेलको मूल्य अहिले १ हजार २८० डलर पुगेको छ। त्यस्तै युद्धअघि सूर्यमुखी कच्चा तेलको मूल्य टनको १ हजार ४ सय डलर रहेकामा अहिले १ हजार ५२० डलर पुगिसकेको छ।
भटमास कच्चा तेल अर्जेन्टिना र ब्राजिलबाट आयात गरिन्छ। यस्तै सूर्यमुखी कच्चा तेल युक्रेन र अर्जेन्टिनाबाट आयात गरिन्छ।
युद्धका कारण खाडी मुलुकको मुख्य सामुद्रिक मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोधले निर्यात कम्पनीले अर्डर लिन छोडेका छन्। नेपालका उद्योगीबाट आयातका लागि अर्डर भइसकेको कच्चा तेल पनि लोडिङ र सिपमेन्ट भएको छैन।
नेपालकी उद्योगीले आयात गर्ने कच्चा तेल हर्मुजबाट ल्याइँदैन। अर्को सामुद्रिक मार्ग स्वेज क्यानलबाट ढुवानी गरिन्छ। तर, स्ट्रेट अफ हर्मुजमा अवरोध बढेपछि स्वेज क्यानलमा ट्राफिक बढेको छ।
हर्मुजबाट ढुवानी गरिने मालबाहक जहाज स्वेज क्यानलतर्फ डाइभर्ट भइरहेका छन्। यसका कारण कच्चा तेलका आपूर्तिकर्ताले निर्यातको अर्डर लिन मानिरहेका छैनन्।
खाडी मुलुकले निर्यात गर्ने पेट्रोलियम पदार्थमध्ये २० देखि ३० प्रतिशत स्ट्रेट अफ हर्मुजबाट ढुवानी गरिन्छ। यो मार्गको उत्तरमा इरान र दक्षिणमा ओमन छन्।
उद्योग संगठन मोरङका उपाध्यक्ष एवम् क्वालिटी रिफाइनरीका सञ्चालक विपिन काबराले युद्धसँगै भटमास कच्चा तेलको मूल्य उकालो लागेको बताए।
पूर्वमा प्रशोधित तेलका सबैभन्दा ठूला निर्यातकर्ता पशुपति खाद्य तेल उद्योगका सञ्चालक एवम् मोरङ उद्योग व्यापार संघका सचिव अमित शारडाले पनि कच्चा तेलका निर्यातकर्ताले नेपाली उद्योगीलाई नयाँ अर्डर नपठाउन नोटिस पठाएको जानकारी दिए।
विदेशका निर्यातकर्ताले नेपाली उद्योगीलाई पठाएको नोटिसमा भनिएको छ, ‘मध्यपूर्वको वर्तमान परिस्थितिका कारण जहाजको तालिका र पारवहन समय (ट्रान्जिट टाइम)मा ठूलो अवरोध आएको छ। ढुवानी कम्पनीले प्रति कन्टेनर १ देखि २ हजार डलरसम्म आपत्कालीन अतिरिक्त शुल्क लगाउने सम्भावना छ र सामान पुग्ने समयको कुनै ग्यारेन्टी हुनेछैन।’ नोटिसमा अर्को जानकारी नआएसम्म ढुवानी र अर्डर रोक्न भनिएको छ।
‘हामी हाम्रा ग्राहकलाई कडा सुझाव दिन्छौँ, जसले अहिलेसम्म सामान लोड गरेका छैनन् वा खाली कन्टेनर बुझेका छैनन्, उनीहरूले अर्को स्पष्ट जानकारी नआएसम्म आफ्ना ढुवानी र अर्डर रोक्नुहोला,’ नोटिसमा उल्लेख छ।
उद्योगी शारडाले युद्धसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा यसको प्रत्यक्ष असर वनस्पति तेलको मूल्यमा पनि पर्ने बताए।
अमेरिका लगायत सबैजसो विकसित मुलुकले इन्धनमा पेट्रोलियम पदार्थमा जैविक इन्धन पनि मिश्रण गर्नुपर्ने अनिवार्यता लागू गरेका छन्। जैविक इन्धनको स्रोत वनस्पति तेल हो।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै जैविक इन्धनको मिश्रणको मात्रा बढ्न थाल्छ। यसपछि वनस्पति तेलको मूल्य पनि सँगसँगै वृद्धि हुन्छ’, शारडाले भने।
युद्धअघि प्रति ब्यारल ७० डलर रहेको पेट्रोलियम पदार्थको मूल्य अहिले ८० डलर पुगिसकेको छ।
निर्यातकर्ताले युद्धको कारण देखाउँदै ढुवानीमा बीमा शुल्कको रकम पनि वृद्धि गर्ने योजना बनाइरहेका छन्। यसो भएमा खाने तेलको मूल्यमा झन् असर पर्नेछ।
उद्योगी शारडाका अनुसार युद्धका कारण ढुवानी भाडा मात्र टनमा १५ देखि २० डलर वृद्धि भइसकेको छ। उनले अहिलेको अवस्थामा कच्चा तेलको आयात गर्दा स्वेज क्यानलको ट्राफिकमा बढेको चापले जहाज ढिलो हुने र कन्टेनरको डिटेन्सन शुल्क पनि लाग्नसक्ने बताए।
‘अहिले सबैजसो उद्योगीले कच्चा तेलको सिपमेन्ट र लोडिङ रोकेका छन्। उद्योगीहरू सामान्य अवस्थाको प्रतीक्षामा छन्,’ उनले भने।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भए पनि आफूहरुले प्रशोधित तेलको मूल्य यथावत् राखेको उद्योगीहरुको दाबी छ। काबरा र शारडा दुबैले युद्ध सुरु भएपछि कुनै उद्योगबाट तेल ननिस्किएको र मूल्य वृद्धि नभएको जिकिर गरे।
The post खाडी युद्धले पेट्रोलियम मात्र होइन खाने तेलको मूल्य पनि उकालो, रोकियो अर्डर, भएन सिपमेन्ट appeared first on BIZMANDU.