निर्वाचन आयोग पुगे देउवा पक्षका नेताहरू, कांग्रेस आधिकारिकता विवाद पेचिलो हुने संकेत
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवाद थप पेचिलो बन्दै गएको छ। शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन्। विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग पुगेका हुन्।
यसअघि विशेष महाधिवेशनले नयाँ कार्य समिति छनोट गरेपछि त्यसको फाइल लिएर गगन थापा समूह निर्वाचन आयोग पुगेको थियो। आयोगलाई फाइल दिँदै कांग्रेसको कार्यसमिति बारेको सूचना अध्यावधिकको आग्रह गरेको थियो।
थापा समूहले पार्टीको विशेष महाधिवेशन सम्पन्न भइसकेको जानकारी गराउँदै त्यसअनुसारको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्न गरेको अनुरोधपछि देउवा समूह पनि पुगेको हो।
देउवा पक्षीय नेताहरूले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफ्नो पक्षको धारणा आयोगसमक्ष प्रस्तुत गरेका छन्। आफूहरू वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगसँग आवश्यक निर्णय गर्न आग्रह गरेको बुझिएको छ।
देउवा पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरलाई कार्बाही घोषणा गरेको थियो। उनीहरुले विशेष महाधिवेशन सकेर प्रक्रिया पुरा गर्दै आयोगमा पुगेयता देउवा समूहलाई गाह्रो परेको छ।
यसैबीच देउवाका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टीमा उत्पन्न गतिरोधका विषयमा उनले आफ्नो भनाइ प्रष्ट गर्ने बताएका छन्।
कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र वैधानिकताका विषयमा देखिएको विवाद निर्वाचन आयोगसम्म पुगेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व सार्वजनिक रूपमा चर्किएको छ। आयोगले दुवै पक्षबाट प्राप्त विवरण र कागजात अध्ययन गरी आवश्यक निर्णय गर्ने जनाएको छ।
The post निर्वाचन आयोग पुगे देउवा पक्षका नेताहरू, कांग्रेस आधिकारिकता विवाद पेचिलो हुने संकेत appeared first on BIZMANDU.