npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

भवानी प्रसाद पाण्डे 1 day ago

इरानी हमलामा परी तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। शनिबारदेखि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा ठुलो क्षति भएको पुष्टि भएको यो पहिलो पटक हो।

अमेरिकी सेनाका अनुसार अन्य पाँच सैनिक “गम्भीर रूपमा घाइते” भएका छन् भने केही सैनिक सामान्य घाइते भई पुनः ड्युटीमा फर्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्। उनले इरानी शासनमाथि “सबैभन्दा कडा प्रहार” गर्ने उद्घोष समेत गरे।

ट्रम्पले अमेरिका केवल आफ्नो वर्तमान सुरक्षाका लागि मात्र नभई, आउने सन्ततिको भविष्य सुनिश्चित गर्न विशाल सैन्य अभियान सञ्चालन गरिरहेको बताएका छन्। उनका अनुसार यो “स्वतन्त्र जनताको कर्तव्य र जिम्मेवारी” हो।

उनले थपेका छन्, “यी कदमहरू सही र आवश्यक छन्, ताकि अमेरिकी जनताले कहिल्यै पनि परमाणु हतियारयुक्त उग्र तथा रक्तपिपासु आतङ्ककारी शासनको सामना गर्न नपरोस्।”

यसैबीच, बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै बेलायतले अमेरिकी सेनालाई आफ्ना सैन्य अड्डाबाट रक्षात्मक कारबाही गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिएका छन्।

स्टार्मरले भनेका छन्, “खतरालाई पूर्ण रूपमा रोक्ने एक मात्र उपाय भनेको क्षेप्यास्त्रहरूलाई तिनकै भण्डारण वा प्रक्षेपण स्थलमै नष्ट गर्नु हो।”

उनका अनुसार अमेरिकाले “विशेष र सीमित रक्षात्मक उद्देश्यका लागि बेलायती सैन्य अड्डा प्रयोग गर्न अनुमति मागेको” थियो।

अमेरिका र इजरायलले शनिबारदेखि इरानमाथि सुरु गरेको संयुक्त सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित उच्च अधिकारीहरू मारिएको दाबी गरिएको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category