npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन पुस २६–२८ मा हुने

टक्सार न्युज 5 hours ago

काठमाडाैँ । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गर्ने भएको छ। सोमबार बसेको पार्टी केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो।

केन्द्रिय समिति बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले लामो छलफलपछि सर्वसम्मत रूपमा महाधिवेशनको मिति र कार्यतालिका तय गरिएको जानकारी दिए। उनले भने, “गाउँ, नगरपालिका, प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको कार्यतालिका पनि निर्धारण गरिएको छ।”

निर्धारित कार्यक्रमअनुसार गाउँ अधिवेशन पुस १६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते र सातै प्रदेश अधिवेशन पुस २३–२४ गते सम्पन्न गरिनेछ।

प्रवक्ता महतले थपे, “क्रियाशील सदस्यता सम्बन्धी प्रक्रिया मंसिर २० भित्र नयाँ र नविकरण हुने सदस्यहरूलाई वितरण गरिसक्ने, जिल्ला–वडा तहमा फारम पठाउने समय सीमा पुस २४ र निर्वाचन क्षेत्र स्तरमा प्रक्रिया पुस ८ भित्र सम्पन्न गर्ने गरी निर्धारण गरिएको छ। प्रारम्भिक छानविनपछि उजुरी र पुनरावेदनको समीक्षा गरी अन्तिम सूची पुस १४ भित्र केन्द्रिय सभापतिलाई बुझाइनेछ। नयाँ सदस्यता वितरणमा समावेशिता, युवा पुस्ता र अन्य पार्टीबाट प्रवेश गर्ने व्यक्तिहरूलाई समेत समेटिने व्यवस्था गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ भित्र सम्पन्न गरिने निर्णय पनि बैठकमा भएको छ।”

त्यसैगरी, महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानविन समिति र केन्द्रिय निर्वाचन समिति गठन गर्ने निर्णय पनि भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्शपछि ती समितिहरू गठन गर्ने छन्।

Read more news from Taksar News

Explore by Source or Category