npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

सात वर्षपछि दिक्तेल बजारको सडक ढलानले पूर्णता पायो

पालिका ब्यूरो 3 days ago

खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम अन्ततः सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको भित्री सडक ढलान सात वर्षपछि पूर्णता पाएको हो ।

दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान सम्पन्न भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँडडुल गर्नसमेत कठिन हुने दिक्तेल बजारको सडकले स्थानीयवासी तथा व्यवसायीलाई लामो समय सास्ती दिँदै आएको थियो ।

पूरै सडक ढलान भएपछि दिक्तेल बजारको स्वरूप नै फेरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको यो सडक सङ्घ र प्रदेश सरकारबाट उपलब्ध गराइएको छ चरणको बजेटमार्फत ढलान गरिएको हो ।

दिक्तेलस्थित शङ्खधर साख्वा चोकदेखि भानुचोकसम्मको अन्तिम खण्डको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै सम्पूर्ण सडक ढलानको काम पूरा भएको हो । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर (भ्याट) तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन प्रालिले ढलानको काम गरेको हो ।

निर्माण कम्पनीले २०८२ चैत २२ गतेभित्र काम सम्पन्न गर्ने गरी २०८२ मङ्सिर २२ गते सम्झौता गरेको थियो । सम्झौता भएको भोलिपल्टबाटै काम सुरु गरिएको र निर्धारित समयभन्दा करिब तीन महिना अगाडि नै ढलान सम्पन्न गरिएको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिए ।

दिक्तेल बजारको बाँकी सडकखण्ड यसअघि नै ढलान भई सञ्चालनमा आइसकेको थियो । जिल्लाका सबै प्रमुख प्रशासनिक कार्यालय रहेको दिक्तेल बजारको सडक लामो समयसम्म बजेट अभावका कारण अधुरै रहँदा राजनीतिक दलका नेताहरूको समेत आलोचना हुँदै आएको थियो ।

ढिलै भए पनि सडक ढलान सम्पन्न भएपछि जिल्लावासी खुसी भएका छन् । विगतमा स्थानीयवासीको असहयोगका कारण ढलानका लागि आएको बजेट फिर्ता पठाउनुपरेको अवस्था पनि रहेको थियो । दिक्तेल बजारवासीसमेत रहनुभएका निर्माण कम्पनीका प्रबन्ध निर्देशक ध्रुव श्रेष्ठले सम्झौताअनुसार समयअगावै काम सम्पन्न गर्नुभएको हो । अब जिल्लाको सदरमुकामसमेत रहेको यस बजार क्षेत्रमा सवारी तथा पैदलयात्रामा सास्ती भोग्नु नपर्ने स्थानीयवासीले बताएका छन् ।

यसैबीच, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दिक्तेल बजारको सडक ढलानसँगै सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएको छ । उक्त बजेटबाट ठेक्का प्रक्रियामार्फत राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण तथा बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।

दिक्तेलमा स्थापित भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माण सुरु गरिएको हो । सालिक पुनः निर्माणका क्रममा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकमा साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी सौन्दर्यकरण गरिने जनाइएको छ ।

स्थानीय टोल विकास संस्था तथा स्थानीयवासीसँग छलफल गरी सहमतिका आधारमा सालिक पुनः निर्माणको काम अघि बढाइएको कार्यालयले जनाएको छ । यसका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो ।

भानुभक्तको सालिक पुनः निर्माण तथा बजार सौन्दर्यकरणका लागि आह्वान गरिएको रु एक करोडको ठेक्कामा सुदेवी कन्स्ट्रक्सन प्रालि, हलेसी खोटाङले रु ८१ लाख ९ हजार २२९ मा सम्झौता गरी काम सुरु गरेको छ । सोही योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङको प्रवेशद्वार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा त्यहाँदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माण कार्य गरिने जनाइएको छ ।

पूर्वाधार विकासका काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन, सौन्दर्यकरण तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर हुने अपेक्षा गरिएको छ । दिक्तेल बजारको सौन्दर्यकरणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा ललितकला क्याम्पस, भोटाहिटी काठमाडौँबाट आएका विद्यार्थीहरूले समेत विभिन्न चित्रकला निर्माण गरिरहेका छन् ।

Read more news from PalikaNews

Explore by Source or Category