npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नजमुलको राजीनामालाई ‘बटमलाइन’ बनाएर खेलाडीद्वारा बीपीएलका खेल बहिष्कार, के हो विवाद?

Mukunda Ghimire 4 hours ago

बंगलादेशको क्रिकेटको विवाद चरममा पुगेको छ। एकातर्फ टी-२० विश्वकपमा आफ्नो खेल भारतबाट सार्नुपर्ने माग लिएर आईसीसीमा पहल गरिरहेको बंगलादेशको क्रिकेट आन्तरिक विवाद पनि चुलिएको छ।

विवादकै कारण जारी बंगलादेश प्रिमियर लिग (बीपीएल)मा आज हुने खेल रोकिएको छ। बुधबार खेलाडीहरूका बारेमा विवादास्पद टिप्पणी गरेका बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक मोहम्मद नजमुल इस्लामलाई खेलाडीहरूले आज दिउँसो १ बजेसम्म (बीपीएल)को खेल सुरु हुनुअघि राजीनामा दिन समयसीमा दिएका थिए।

खेलाडीहरूले दिएको अल्टिमेटम सकिएको १२ घण्टा बितिसक्दा पनि निर्देशक नजमुलले राजीनामा दिएका छैनन्। आज दिउँसो मिरपुरको शेर-ए-बंगला स्टेडियममा हुने भनिएको चट्टोग्राम रोयल्स र नोआखाली एक्सप्रेसबीचको खेल सुरु हुन सकेको छैन।

बिहान ११:३० बजे बीसीबीले एक प्रेस विज्ञप्ति जारी गर्दै नजमुललाई कारण देखाउ नोटिस पठाइएको र उनले ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्नुपर्ने जनाएको छ। तर, खेलाडीहरू उनले निर्देशक पदबाट राजीनामा दिनुपर्ने कुरामा अडिग छन्।

बंगलादेश क्रिकेट बोर्डका निर्देशक मोहम्मद नजमुल ।

बुधबार खालिदा जियाको सम्झनामा बीसीबीले आयोजना गरेको प्रार्थना समारोहपछि नजमुलले खेलाडीहरूका बारेमा विवादास्पद टिप्पणी गरेका थिए।

टी२० विश्वकपमा खेलाडीहरूले भाग नलिए बीसीबीले आर्थिक नोक्सानी व्यहोर्ने कि भनेर सोधिएको प्रश्नमा उनले भनेका थिए खेलाडीहरुमा खर्च गरेको लाखौं टाका फिर्ता लिनुपर्छ भन्ने आशयमा अभिव्यक्ति दिएका थिए।

अर्को प्रश्नको जवाफमा उनले यो पनि भनेका थिए, ‘हामी उनीहरूमा यति धेरै खर्च गरिरहेका छौं, तर उनीहरूले विभिन्न ठाउँमा केही पनि हासिल गर्न सकेका छैनन्। के हामीले अहिलेसम्म एउटा पनि विश्वकप जितेका छौं?’

बंगलादेश क्रिकेटर्स वेलफेयर एसोसिएसन (सीडब्ल्यूएबी)ले बिहीबार राति पत्रकार सम्मेलनमार्फत आफ्नो कडा अडान दोहोर्‍याउँदै आजको बीपीएल खेलअघि नजमुलले राजीनामा नदिए खेलाडीहरू सबै प्रकारका क्रिकेटबाट टाढा रहने घोषणा गरेको थियो। नेपाली बलर सन्दीप लामिछानेले पनि बीपीएल खेलिरहेका छन्।

The post नजमुलको राजीनामालाई ‘बटमलाइन’ बनाएर खेलाडीद्वारा बीपीएलका खेल बहिष्कार, के हो विवाद? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category