PalikaNews
भीमसेनथापा गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनबाट चार विधेयक सर्वसम्मत पारित
गोरखा — गोरखाको भीमसेनथापा गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशनबाट चारवटा विधेयक सर्वसम्मत रूपमा पारित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्तावसहित महत्वपूर्ण विधेयकहरू पारित गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
अध्यक्ष बन्जराका अनुसार अधिवेशनबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२’, ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक–२०८२’, ‘वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयक–२०८२’ तथा आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मत पारित गरिएको हो। साथै ‘आर्थिक ऐन–२०८२’ संशोधन विधेयकसमेत सभाले पारित गरेको छ ।
अधिवेशनमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२’ संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक गोपाल विकले प्रस्तुत गरेका थिए । यस्तै ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक–२०८२’ आर्थिक विकास समिति संयोजक होमबहादुर बरामुले सभामा पेस गरेका हुन् ।
‘वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयक–२०८२’ वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टराईले सभासमक्ष पेस गर्नुभएको अध्यक्ष बन्जराले बताए । आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव र ‘आर्थिक ऐन–२०८२’ संशोधन विधेयक उपाध्यक्ष अमृतादेवी भट्ट (वस्ती)ले पेस गरेकी थिइन् ।
अधिवेशनमा उपाध्यक्ष भट्टले नै प्रस्तुत गरेको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको अध्यक्ष बन्जराले जानकारी दिए । यसैगरी लेखा समिति, सुशासन समिति र विधायन समितिका प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएका थिए ।
अधिवेशनमा लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि–२०८२, बेरुजु फछ्र्योट कार्यविधि–२०८२ र गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८२ माथि छलफल गरी स्वीकृत गरिएको छ ।