बहुमत हुँदा पनि कांग्रेस संस्थापनले महाधिवेशनको मिति तोक्न किन सकेन?
काठमाडौं। नेपाली कांग्रेस असोज २८ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा छ। खड्काको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको ५१औं दिन पुग्नै लागेको छ।
केन्द्रीय कार्यसमितिको मूल एजेन्डा १५औं महाधिवेशन कहिले गर्ने भन्ने हो। तर सहमतिका लागि नेताहरू टसमस नभएपछि केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ।
पार्टीको संस्थापन र इतर दुवै पक्ष सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवाले नै महाधिवेशनबारेको अन्योल टुङ्ग्याउन समाधानको सूत्र निकाल्नुपर्नेमा पुगेको देखिन्छ।
यो बीचमा कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिने निर्णय खड्काको नेतृत्वमा गरिसकेको छ। तर पटक-पटकको अनौपचारिक छलफल हुँदा पनि आम चासोको विषय रहेको महाधिवेशनको कार्यतालिका भने खड्काले ल्याउन सकेको छैनन्।
संस्थापन पक्षका नेताहरूले आफ्नो समूहको गुट भेलामा महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई नटेर्दा देउवा गुहार्नुपर्ने अवस्था आएको बताउँछन्।
महाधिवेशन कार्यतालिकाका लागि असोज २८ यता के-के भए?
सुरुमा महामन्त्री गगन थापाले मंसिरको २७-२९ मा महाधिवेशन गर्न सकिने कार्यतालिका ल्याएका थिए। केन्द्रीय कार्यसम्पादन समितिले आफ्नो यो प्रस्ताव स्वीकार नगरेको भन्दै थापाले असोज ३१ गते सामाजिक सञ्जालमार्फत यो कार्यतालिका सार्वजनिक गरेका थिए।

यसअघि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको सक्रियतामा दसैंअघि नै विशेष महाधिवेशनको हस्ताक्षर अभियान सुरु भयो। दसैंका कारण विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नजुटेपछि केन्द्रीय समिति बैठकअघि असोज २४ भित्रै ५४ प्रतिशत हस्ताक्षर जुटाए। असोज २६ गते केन्द्रीय समिति बैठक बोलाए पनि यो बैठक सरेर असोज २८ गते पुग्यो। उक्त बैठकमा देउवाले विशेष सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सुम्पे र आफू उपचारका लागि सिंगापुर जाने जानकारी केन्द्रीय समितिलाई दिए।
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने मतलाई बलियो बनाउन विशेषको मागमा सक्रिय रहेका थापाले औपचारिक रूपमै केन्द्रीय समितिमा यो एजेन्डा बनाउन माग गरे। यही कारण केही दिन त गगनले केन्द्रीय समिति नै बहिस्कार गरेका थिए। त्यसपछि महामन्त्री थापाले कात्तिक १८ गते केन्द्रीय समितिमा औपचारिक प्रस्ताव ल्याए महाधिवेशनको। जसमा पुस १५ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न सकिने प्रस्ताव पेस गरेका थिए। गगनले यो प्रस्ताव ल्याउने भएपछि संस्थापन इतरका नेता डा शेखर कोइरालासँगसमेत भेटेका थिए।
गगनले कार्यतालिका ल्याउने भएपछि संस्थापन पक्षले यसलाई रोक्न सक्दो प्रयास गरे। तर शेखरको साथ लिएर गगन प्रस्तुत भएपछि संस्थापनले सहमहामन्त्री महेन्द्र यादवमार्फत वैशाखको कार्यतालिका प्रस्तुत गरे। यसलाई काउन्टर कार्यतालिकाको रूपमा हेरिएको छ। संस्थापन पक्षका सात भाइ यसमा सबैभन्दा बढी सक्रिय भए। उनीहरूको जोड छ – निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन गर्न सकिन्न। उनीहरूले गगनकै कारण महाधिवेशन हुन नसक्ने दाबी पेस गर्दै आएका छन्। क्रियाशील व्यवस्थापन समितिका संयोजक गगन हुन्। महाधिवेशनका लागि क्रियाशील विवादको टुंगो लाग्नुपर्छ। तर कांग्रेसमा यो विवाद दीर्घरोगका रूपमा स्थापित भइसकेको छ। पटक पटक म्याद थप्दा पनि क्रियाशील सदस्यता टुंगोमा नपुग्नु संस्थापनकै असहयोग भएको गगन पक्षको दाबी छ। संस्थापनको यो पारा देखेर २७ जना गगनकै कित्तातिर उभिन पुगिसकेका छन्। उनीहरूको माग हो निर्वाचनअघि नै महाधिवेशन।
यति गर्दा पनि कांग्रेस संस्थापनले गगनको मुद्दाको सुनुवाइ गर्ने छाँट देखाएका छन्। आफ्नो मागको कुनै सुनुवाइ गर्ने छनक नदेखेर होला, गगनले केन्द्रीय समितिमा कात्तिक २७ गते लामो सम्बोधन गर्दै अब विशेष महाधिवेशनको विकल्प नभएको अडानमा फर्किएका छन्। कारण १६७ सदस्यीय केन्द्रीय समितिमा २७ जना गगनको कित्तामा उभिँदा पनि यो पक्ष बलियो हुन सकेको छैन।

शेखर–सिटौला नै गगनका लागि बाधक
गगन कांग्रेसमा प्रतिपक्षी नेता हुन्। १३ औं महाधिवेशन यता गगनले जबरजस्त रूपमा आफूलाई प्रतिपक्षी कित्तामा सफल नेतृत्वकर्ताको रूपमा उभ्याउँदै आएका छन्। भृकुटीमण्डपमा १३औं महाधिवेशन हुँदा कृष्णप्रसाद सिटौलाको गुटबाट महामन्त्रीका उम्मेदवार बनेका थिए गगन। त्यति बेला शशांक कोइरालासँग पराजित गगनले १४औं महाधिवेशनमा क्याम्प फेरे। १४औं महाधिवेशनमा शेखर क्याम्पमा गगन छिरेपछि सिटौला लगभग एक्लिएका थिए। त्यसपछि उनले देउवासँग साँठगाँठ गरेर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन सफल भए।
यता गगन भने शेखर क्याम्पबाट महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएयता शेखर-गगनको सम्बन्ध सुमधुर हुन सकेन।
संसदीय दलको निर्वाचनमा शेखरले गगनलाई मौका दिए। संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत पाउँदा गगनको २५ मत मात्र थियो। ३२ मत भएको शेखर पक्षबाटै ७ मत गायब भएको भन्दै गगनले हिसाबकिताब गरेका थिए। त्यसपछि त झन् शेखर गगनको दुरी झनै बढ्न थाल्यो।
अहिले गगनको प्रमुख बाधक नै शेखर र सिटौला रहेको गगन निकट नेताहरू बताउँछन्। यति मात्र हैन अहिले सिटौलासँग सात भाइको नामले चिनिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रवक्ता डा प्रकाशशरण महत पनि जोडिएका छन्।
२७ जना संस्थापन पक्षले साथ दिँदा पनि गगनको पक्षमा १६७ सदस्यीय केन्द्रीय सदस्यमा ३२ जना पुर्याउन मुस्किल रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए। मंसिर १० मा राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा ५ जना केन्द्रीय सदस्य पुगेका थिए। जसमा मधु आचार्य, प्रतिमा सिलवाल, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी र तारामान गुरुङ पुगेका थिए। तारामान देउवा निकट केन्द्रीय सदस्य हुन्। उनी केही दिनअघिमात्र २७ जनाको समूहमा जोडिएका थिए।
महाधिवेशन निर्वाचनअघि कि पछि?
यो निर्क्योल गर्न कांग्रेस केन्द्रीय समितिले मतदान गर्ने तयारी गरेको छ। यसका लागि सबैभन्दा पहिले विशेष महाधिवेशनका लागि गरिएका ५४ प्रतिशत हस्ताक्षरको सनाखत गर्ने तयारी छ।
सनाखत गर्दा पक्ष र विपक्षमा एक्स्पोज हुने र पार्टीमा फुट आउने भन्दै सक्दो सहमतिमै जाने दुवै पक्षले भरपुर प्रयास गरिरहेको बताइएको छ। यसो गर्दा धेरैले हस्ताक्षर फिर्ता गर्ने दाबी संस्थापन पक्षको छ। तर हस्ताक्षर अभियानमा अगुवाइ गरेका गुरु घिमिरे भने आफूहरू सनाखत गर्न तयार रहेको बताउँछन्। ‘कसैको हस्ताक्षर फर्जी छैन। पार्टीका साथीहरूलाई नक्कली हस्ताक्षर भन्न पाइँदैन। फर्जी हस्ताक्षर एउटा निकाल्नुस् त,’ घिमिरेले चुनौती दिएका छन्।
उक्त विषय टुंगोमा लागेपछि निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने तयारीमा कांग्रेस पुग्ने संस्थापन पक्षका एक पदाधिकारीले बताए। ‘भोटिङमा जाने तयारी छ। यो भनेको नियमित तर निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने नै हो,’ ती पदाधिकारीले भने।
विधानअनुसार कांग्रेसको १४औं महाधिवेशनको पदावधि मंसिर मसान्तसम्म मात्र हो। त्यसपछि असाधारण स्थितिमा वर्ष दिन म्याद थप्न पाउँछन्। कांग्रेसको विधानको धारा ४३ मा यसबारे व्यवस्था गरिएको छ। ‘पार्टीको सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ,’ धारा ४३ मा भनिएको छ। यही धारा बमोजिम कांग्रेस केन्द्रीय समितिले ६ महिनाको पदावधि थप्ने र वैशाखमा महाधिवेशन गर्ने निचोडमा पुग्ने तयारी गरिरहेको छ।
The post बहुमत हुँदा पनि कांग्रेस संस्थापनले महाधिवेशनको मिति तोक्न किन सकेन? appeared first on BIZMANDU.