खाडी मुलुकको तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन : व्यवसायी घिमिरे
काठमाडौं। पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले खाडी मुलुकको तनावका कारण नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा घिमिरेले इन्धनको उत्पादन घटेर आपूर्ति श्रृंखला प्रभावित भए पनि नेपालमा तत्कालै अभाव नहुने बताए।
‘विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गरेको छ। अहिले खाडी मुलुकको तनावका कारण त्यस्तै त्रास देखिएको छ,’ घिमिरेले भने, ‘तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन।’
उनले अहिलेको द्वन्द्वका कारण उत्पादन घटेर आपूर्ति श्रृंखलामा समस्या पैदा भएको अवस्थामा पनि नेपालमा तत्कालै असर नगर्ने भन्दै त्रसित नहुन आग्रह गरे।
उनले ढुवानीमा बुलेट अभावको समस्या समाधान भइसकेको र जाडोको तुलनामा खपत घटेकाले ग्यास अभावको स्थिति नआउने बताए।
The post खाडी मुलुकको तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन : व्यवसायी घिमिरे appeared first on BIZMANDU.