चीन र क्यानडाबीच करदेखि र भिसासम्मका लागि ऐतिहासिक सहमति
बेइजिङ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ ।
क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गरेका छन् ।
सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका उत्पादनहरूमा आक्रामक रूपमा करवृद्धि गरेपछि कार्नीले आफ्नो देशको प्रमुख आर्थिक साझेदार र परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न खोजेका छन्।
“क्यानडा र चीनबीच व्यापार अवरोध हटाउन र करवृद्धि घटाउने प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता भएको छ,” राष्ट्रपति सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले भने ।
सम्झौता अन्तर्गत क्यानोलाको बीउको लागि क्यानाडाको सबैभन्दा ठूलो बजार चीनमा मार्च १ सम्ममा क्यानोला उत्पादनहरूमा कर घटाएर करिब १५ प्रतिशतमा झार्ने अपेक्षा गरिएको छ,। यो हाल ८४ प्रतिशतको हाराहारीमा रहेको छ ।
चीनले क्यानडियाली आगन्तुकहरूलाई पनि बिना भिसा प्रवेश गर्न अनुमति दिनेछ।यसको बदलामा, क्यानाडाले ६.१ प्रतिशतको नयाँ प्राथमिकताको करमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन (इभी) आयात गर्नेछ। -एएफपी