सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते
सिद्धार्थनगर। रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो । राति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा परी देवदह–५ निवासी २८ वर्षीय सुनिल पाण्डे गम्भीर घाइते भएका थिए ।
देवदह मेडिकल कलेज, भलुही पुर्याइएकामा उपचारका क्रममा पाण्डेको मृत्यु भएको प्रहरी निरीक्षक भीमसेन विष्टले जानकारी दिए ।
उक्त दुर्घटनामा परी स्कुटर चालक देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । उनको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।