नेपाल माइक्रो इन्स्योरेन्समा हदैसम्म मनपरी, मिलेमतोमै फेक बीमा दाबी, लाखौँ ठगी !
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्समा हदैसम्मको मनपरी भएको पाइएको छ । कम्पनीमा फेक बीमा दाबी गरेर ८१ लाख रुपैयाँ ठगी गरेको पाइएको हो ।
यतिसम्म की फेक बीमा दाबी गरेर लाखौँ रकम हत्याउने योजनामा प्रहरीले समेत सहयोग गरेको खुलेको छ । काल्पनिक दुर्घटना खडा गरी फेक बीमा दाबी गरेर ८१ लाख रुपैयाँ ठगी गरेको भन्ने पोल खुलेपछि अहिले ३१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर हुनेहरुमा प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार धुर्व शाही पनि छन् । उक्त फेक बीमा दाबी प्रकरणमा उनको समेत मिलेमतो देखिएको प्रहरीले निष्कर्ष निकालेको छ ।
त्यस्तै, यसरी नक्कली कागज बनाउन सहयोग गर्ने हरि बुढाथोकीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले कार्यालयको लेटरप्याड बनाएर प्रहरी निरीक्षक श्याम खनालको नाम र हस्ताक्षर दुरुपयोग गरेर नक्कली कागजात बनाउने गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।
शाही र बुढाथोकीसँगै प्रहरीले सुसन घिमिरे, मनोज कुमार आचार्य, गंगा महर्जन, कुल बहादुर महर्जन, प्रबिन महर्जन, निरुसा महर्जन, विनोद डंगोल, पुकार महर्जन, निरोज महर्जन, सुशिल अर्याल, दयानाथ धिताल, जबिर हुसेन अन्सारी, सृजन पाण्डे, हरि प्रसाद गौतम, सुदिप कार्की, सुमित्रा अर्याल, प्रजुना भण्डारी, जयराम चापागाईँ, रामेश्वर भण्डारी, निर बहादुर बुढाथोकी, शिव खड्का, गौरी बहादुर बुढाथोकी, खिन बहादुर थपलिया, उर्मिला थापा, सफल सुवेदी, लक्ष्मण तामाङ, पवन भट्ट , राम बहादुर कार्की र विकेश कुँवरविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुले प्रहरीकै मिलेमतोमा सवारी दुर्घटनाको विवरण बनाई फेक उपचार खर्च र मिलापत्र गरिएको कागजसमेत तयार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढाथोकीले बीमाको रकम हात पार्न आफूहरुले सो कागजात बनाएको स्वीकारेका छन् ।